श्रीलङ्काको लुम्बिनी गुरुयोजनामा सहयोग गर्ने प्रस्ताव

श्रीलङ्काले लुम्बिनी गुरुयोजना पूरा गर्न नेपाल सरकारबाट प्रस्ताव आए श्रीलङ्का सरकार सहयोग गर्न तयार रहेको बताएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक०को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउनु भएका श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको आज गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणको क्रममा सो सहयोग गर्ने धोषणा गरिएको हो ।
लुम्बिनी भ्रमण र मायादेवी मन्दिरको दर्शन पश्चात् मन्दिरको दक्षिणतर्फ रहेको पिपलको बोटमुनि आयोजित विशेष कार्यक्रममा राष्ट्रपति सिरिसेनाका तर्फबाट विदेश मामिला मन्त्रालयका सचिव रविनाथा पि आर्य सिंहाले बुद्धको जन्मस्थल लुम्बिनीको विकास र गुरुयोजना पूरा गर्न श्रीलङ्का सरकार सहयोग गर्न तयार रहेको घोषणा गर्नुभएको हो ।
यसअघि श्रीलङ्काका राष्ट्रपति सिरिसेनाको सम्मानमा आयोजित कार्यक्रममा लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले नेपालमा पर्यटक आउने भारत र चीनपछि श्रीलङ्काली भएको उल्लेख गर्दै गत आर्थिक वर्षमा ५० हजार पर्यटक नेपाल आएको जानकारी दिनुभयो ।-रासस

Comments