बाढीपहिरोमा परेर लमजुङमा २ जनाको मृत्यु



अपराह्नको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर लमजुङमा २ जनाको मृत्यु भएको छ । ४ जना बेपत्ता भएका छन् । मर्स्याङदी गाउँपालिका ३, तरापु पल्लोटारीमा घर माथिबाट आएको पहिरोबाट जोगिन भाग्ने क्रममा हजुरआमा ६० वर्षीया अतिरुपा थापा र नातिनी १० वर्षीया सिरस थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाख्रा चराउने क्रममा पहिरोबाट खसेको ढुंगाले लागेर मस्र्याङदी गाउँपालिका ४, श्रीचौरकी अन्दाजी ४० वर्षीया विष्णुकली गुरुङको मृत्यु भएको छ । गम्भीर घाइते उनलाई गाउँलेले घर ल्याएको र साँझ ७ बजेतिर मृत्यु भएको स्थानीय पूर्णबहादुर गुरुङले बताए ।

गम्भीर घाइते उनीहरुलाई उपचारको लागि खुदीस्थित स्वास्थ्य संस्थामा ल्याउने क्रममा बुधबार साँझ ६ बजेतिर निधन भएको डीएसपी यादव ढकालले बताउनुभयो । उहाँका अनुसार मर्स्याङदीमा एक्कासी बढेको बहाबले बगाउँदा बेंसीसहर नगरपालिका ११, रामचोकबेंसीस्थित दोर्दीखोला जलविद्युत आयोजनाको पावरहाउस निर्माणमा खटिएका २ जना युवकलाई मर्स्याङदीले बगाएको छ ।

ठेकेदार कम्पनी रसुवा कन्ट्रक्सन प्रालिमार्फत पावर हाउसको काममा कार्यरत बर्दियाका अन्दाजी ३० वर्षीय बलिराम चौधरी र अन्दाजी २२ वर्षीय लक्ष्मण थारुलाई मस्र्याङदीले बगाएको प्रहरीले बताएको छ । बाढीले निर्माणाधिन जलविद्युत आयोजनाहरुमा पनि क्षति पुर्‍याएको प्रवद्र्धक कम्पनीहरुले बताएको छ ।

Comments