
भदौ, पोखरा । गण्डकी प्रदेश सरकारले विकास बजेट कार्यान्वयन सुरु गरेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत बिहीबार जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय उद्घाटन गर्नुका साथै पौ खोला लुम्रे सिमलवेशी सिँचाइ आयोजनाको शिलान्यास गरिएको हो । प्रदेश सरकारको यो नै पहिलो विकास आयोजना हो ।सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले प्रदेशको विकास बजेट कार्यान्वयनको सुरुआत भएको घोषणा गरे । ‘अब हामी बजेट कार्यान्वयनको चरणमा प्रवेश गर्यौं,’ मन्त्री बस्नेतले भने, ‘माछापुच्छ्रे हिमालको काखबाट प्रदेशले विकासका कामहरु सुरु गर्यौं भनेर घोषणा गर्न पाउँदा खुसी लागेको छ ।’
गण्डकी प्रदेश सरकारले भौतिक पूर्वाधारको आधार तयार गर्ने योजनासहित नीति तथा कार्यक्रम र १५ अर्ब ९० करोड ७८ लाख रुपैयाँको विकास बजेट ल्याएको थियो । साउनमा सबै कार्यालय स्थापना गर्ने र भदौको पहिलो हप्तादेखि बजेट कार्यान्वयनमा लाग्ने योजना रहेपनि कर्मचारी अभावका कारण ढिला भएको हो ।
अर्को रोपाइँ अगावै ३४ हेक्टर जमिनमा सिँचाइ
गण्डकी प्रदेश सरकारकै पहिलो विकास आयोजनाका रुपमा शिलान्यास भएको लुम्रे सिमलवेशी सिँचाइ आयोजना अर्को वर्ष रोपाइँ हुनुअगावै सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
१ करोड १० लाख रुपैयाँमा सम्पन्न गर्ने भनिएको सिचाइँ आयोजनामार्फत ३५ हेक्टर जमिन सिचाइँ हुने भौतिक पूर्वाधार मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाले जानकारी दिए ।
झन्डै २ सय घरपरिवार लाभान्वित हुने सिँचाइ आयोजनाको १ दशमलव ६ किलोमिटर नहर निर्माण गरिने छ । आयोजनाका शाखा नहर, नदी तटबन्दसँगै सबै काम असारभन्दा अगाडि नै सकेर हस्तान्तरण गरिने योजना छ । तत्काल आयोजनाका लागि ४५ लाख रुपैयाँ विनियोजन गरिएको भए पनि कार्य प्रगतिका आधारमा थप बजेट गर्दै लैजाने मन्त्रालयका सचिव मरहट्टाले जानकारी दिए ।
२८ वर्षअघि सोही ठाउँमा कच्ची नहर थियो । अब प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत नहर निर्माण गर्न लागिएको हो । प्रदेश सांसद रामजी बरालले माछापुच्छ्रे गाउँपालिकाबाट गण्डकी प्रदेशको विकासको सुरुवात हुनु महत्वपूर्ण क्षण भएको बताए । ‘जसरी यो आयोजना माछापुच्छ्रे गाउँपालिकाबाट सुरु भएको छ, त्यसैगरी प्रदेशको काम नमुनायोग्य बन्नेछ’ बरालले भने, ‘अब विकास साँच्चिकै जनताको घरदैलोमै आयो भन्ने सन्देश प्रवाह गर्नु पर्नेछ ।’
ढिलाई गरे कारबाही, छिटो सक्नेलाई सम्मान
प्रदेश सरकारले पहिलो विकास आयोजनाको शिलान्यास गरेसँगै छिटो काम सक्नेलाई सम्मान र ढिलाइ गर्नेलाई कारबाहीको दायरामा ल्याउने घोषणा गरेको छ । सरकारका प्रवक्ता मन्त्री बस्नेतले त्यो अभियान यही आयोजनाबाट सुरु गर्ने बताए । ‘यो नै प्रदेशले थालेको पहिलो विकास आयोजना हो,’ प्रवक्ता बस्नेतले भने, ‘म्याद सकिनु अगावै काम सक्नेलाई विभिन्न तरिकाले सम्मान गर्ने र ढिला गर्ने कारबाही गर्ने परिपाठीको नीतिगत रुपमै थालनी गछौं ।’
जनताले पनि अब हाम्रो विकास हुन्छ भन्ने विश्वास गर्नुपर्ने प्रदेश सरकारका प्रवक्ता बस्नेतले बताए । ‘अब प्रदेश सरकार गाउँमा आएको छ । यहाँको स्थानीय सरकारसँगको समन्वयमा काम हुन्छ’ मन्त्री बस्नेतले भने, ‘आयोजनाको अनुगमन, मूल्यांकन गर्ने र समन्वय गर्ने काम स्थानीय सरकारले गर्ने छ ।’
वर्षामा धान फलाउनुस्, हिउँदमा तरकारी
पुरानो कुलो जीर्ण बन्दै गएपछि बर्खामा रोपाइँ गर्न र हिउँदमा अरु बाली लगाउनै समस्या पथ्र्यो । सिँचाइ आयोजनाको शिलान्याससँगै गाउँलेमा खुसी छाएको छ । सिँचाइ आयोजनाको शिलान्यासमा खुसी हुँदै गरेका स्थानीयलाई मन्त्रीको सुझाव छ, ‘बर्खामा धान फलाउनुस् हिँउदमा टनेलका टनेल तरकारी फलाउनुस् ।’
राम्रो धान उब्जनी हुने ठाउँका रुपमा रहेको माछापुच्छ्रेको लुम्रेवेशीमा हिउँदमा तरकारी फलाएर सहर पुर्याउन मन्त्री बस्नेले आग्रह गरे । ‘बर्खामा मुरीकाकुरी धान र हिउँदमा टनेलका टनेल बनाएर साग उब्जाउनुस्,’ सरकारका प्रवक्ता बस्नेतले भने, ‘तरकारी बचेरै पनि राम्रो आम्दानी गर्न सकिन्छ भनेर विदेश रहेकालाई घर र्फकन प्रेरित गर्नुहोस् ।’
किसानको कृषि सहकारी खोलेर तरकारी निर्यात गर्न उनको सुझाव छ । संघीयतालाई सफल पार्ने हो भने विकास गर्नुको विकल्प नरहेकेा उनको भनाइ थियो । ‘पहिलेपहिले खेतमा सागसब्बी लगाएर बजार लैजाने ज्ञान थिएन, बाटोको असुविधा पनि थियो,’ सिँचाइ उपभोक्ता समितिका अध्यक्ष गुप्तबहादुर गुरुङले भने, ‘अब पक्कै हिउँदमा खेतभरि तरकारी फल्नेछन् ।’
माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले प्रदेशका आयोजनासँग स्थानीय तहले समन्वय गरेर कामलाई प्रभावकारी बनाउने बताए ।
Comments
Post a Comment