नाडामा लेजेन्ड ब्रान्ड जिपको कम्पास र रेंगलरले खिच्यो धेरैको ध्यान


२९ भदौ,काठमाडौं । नेपालमा हालै प्रवेश गरेको नयाँ ब्रान्ड हो, जिप । नयाँ कारको आगमनसँगै पछिल्ला वर्षहरुमा नेपाली अटोबजार तीव्र गतिमा विस्तार भइरहेको समयमा जिपको प्रवेशले नयाँ तरंग ल्याएको छ । अमेरिकी लेजेन्ड जिपका दुई गाडी नेपाल आइसकेका छन् । नाडाका अवसरमा सार्वजनिक भएका यी गाडीले धेरैको ध्यान खिचेको छ ।

संसारकै पहिलो एसयुभी भनेर चिनिने जिप ब्रान्ड कम्पासलाई सार्वजनिक गरेर औपचारिक रुपमा नेपाल भित्रिएको छ ।शक्तिशाली अफरोड एसयुभीको सबैभन्दा ठूलो लाइनअप भएको जिप गत वर्ष भारतमा प्रवेश गरेको थियो । पहिलो वर्षमै २६ हजार ओटा विक्री भएर जिप कम्पासले भारतीय अटो क्षेत्रमा तहल्का मच्चाइरहेको छ । त्यहिँ जिप कम्पास यो वर्षको नाडा अटो शोको प्रमुख आकर्षण बनेको छ ।

जिप कम्पास ग्रान्ड चेरोकीको प्रिमियमनेस र रेंगलरको कठोरताको समिश्रण हो । कम्पासको डिजाइन जिपका अन्य एसयुभीसँग मिल्छ । अझ यसलाई ग्रान्ड चेरोकीको सानो रुप भन्दा पनि हुन्छ ।

कम्पासमा जिपको सिग्नेचर सेभेन स्लट गि्रल र दुई छेऊमा ठूला हेडलाइट छन् । डेलाइट रनिंग ल्याम्पले सडकमा कम्पासको उपस्थितिलाई जबरजस्त बनाइदिन्छ । बम्परमा फग लाइट र डुअल टोन इफेक्ट पनि देख्न सकिन्छ । यसको एसयुभी प्रोफाइलाई १८ इन्चका ठूला चार वटा पांग्राले झल्काउँछ । डिजाइन ल्यांग्वेज बोल्ड छ ।

कम्पास १.४ (मल्टिएयर पेट्रोल) र २.० (मल्टिजेट डिजेल) इन्जिनमा उपलब्ध छ । १.४ लिटरको इन्जिनले १६२ पीएस र २५० एनएमको टर्क उत्पन्न गर्छ भने २.० लिटर इन्जिनले १७३ पीएस र ३५० एनएम टर्क उत्पन्न गर्छ ।

Comments