
नेपाली समाजमा स्कुल-कलेजमा उच्च अंक प्राप्त गर्ने विद्यार्थीले डाक्टर इन्जिनियर पढ्नुपर्ने मान्यता छ । कथंकदाचित कसैले यस्ता प्राविधिक विषय लिएनन् भने लोकसेवा आयोगमार्फत परराष्ट्र मन्त्रालयमा जागीर खाने लक्ष्य बनाउँछन् । राम्रो पढ्न सक्ने मानिस बैंक वित्तीय संस्थामा जाने अथवा विदेशमा गएर कुनै प्राविधिक विषयमा काम गरेर राम्रो आम्दानी गर्नुपर्छ भन्ने मान्यता पनि नेपाली समाजमा बढ्दै गएको छ ।
तर, महेश पौड्याल त्यस्ता थोरै अपवादमध्ये एक हुन्, जसले सधैं उच्च अंक प्राप्त गरे पनि साहित्यमा आए । अंग्रेजी साहित्य स्नातकोत्तर तहका गोल्ड मेडलिस्ट महेश पौड्याल एमफिलको परीक्षामा पनि प्रथम भए । त्यति मात्र होइन, उनी त्रिभुवन विश्विविद्यालयको उपप्राध्यपक पदमा पनि सबैभन्दा उच्च अंक ल्याएर पास भए । पौड्यालले २७ वर्षको उमेरमै स्नातकोत्तर तहमा शिक्षकका रूपमा प्रवेश पाएका हुन् । विद्यालय तहदेखि नै प्रथम भएका पौड्याल आफ्नो अंग्रेजी राम्रो बनाउन भारतको मणिपुरमा स्नातक तह अध्ययन गर्न गएका थिए । त्यहाँ पनि उनले मणिपुर राज्य टप गरिदिए अहिले महेश पौड्याल नेपाली साहित्यका सबैजसो विधामा कलम चलाउँछन् । उनी कथा, कविता, उपन्यास, निबन्ध, समालोचना, अनुवादजस्ता सबै क्षेत्रमा आफूलाई परीक्षण गरिरहेका छन् । भर्खरै ३९ वर्ष टेकेका महेश पौड्यालका १२ वटा सिर्जनात्मक कृति प्रकाशित भइसकेका छन् भने समालोचना र अनुवाद कृति जोड्दा थप एक दर्जन कृति उनको नाममा जोडिन्छ ।
यो साता नेपाली साहित्यमा तीव्र धावकका रूपमा नाम कमाएका महेश पौड्यालसँग अनलाइनखबरका लागि अश्विनी कोइरालाले गरेको कुराकानी :
तपाईं सधैं प्रथम आउनुको कारण जन्मजात प्रतिभा भएर हो कि यसको कुनै पृष्ठभूमि छ ?
सबै मानिसमा भिन्न खालको जन्मजात प्रतिभा हुन्छ । तर, सबैले मेरो प्रतिभा के हो भनेर थाहा पनि पाउँदैनन् र त्यसमा निखार ल्याउने काम पनि गर्दैनन् । मेरो हकमा के भइदियो भने बुबा इलाममा अंग्रेजी भाषाको शिक्षक हुनहुन्थ्यो र सानैदेखि उहाँले मलाई अध्ययन गर्ने लत लगाइदिनुभयो । मैले आफूमा निखार ल्याउन कहिल्यै अल्छी गरिनँ ।
सधैं प्रथम हुनुको फाइदा के हुँदा रहेछन्, बेफाइदा के हुँदा रहेछन् ?
विद्यालय र कलेजमा आएका जुनसुकै अवसर पनि पहिलो हुने व्यक्तिले प्राप्त गर्छ । शिक्षकहरूले विश्वास गर्नुहुन्छ र उसले थप कुरा सिक्न पाउँछ । माइक समाएर स्टेजमा पठाइदिने, कुनै फरक खालको काम मा पनि जिम्मेवारी दिने, सानोतिनो गल्तीलाई आँखा चिम्लिदिने काम हुन्छ । जब कि त्यही गल्ती अरूले गर्दा त्यसको सजाय निकै फरक हुन्छ ।
अनि बेफाइदा नि ?
धेरै कम सोधिने प्रश्न हो तर मलाई लाग्छ, यो गम्भीर प्रश्न हो । खासमा प्रथम भन्नुहोस् वा अलि लेखपढ गर्न जान्ने मानिसलाई सधैं मानिसले गम्भीर रूपमा लिन्छन् । मेरो पनि बालापन आयो तर कहिल्यै बाललीला गर्न पाइएन । तँ त लेखपढ गर्न जान्ने मान्छे…भनेपछि कुनै गल्ती पनि गर्न नपाइने । सधैं परिपक्व व्यवहार गर्नुपर्ने बाध्यता । मेरो पनि जवानी आयो, तर जवानीमा गरिने भूलहरू प्नि गर्न पाइएन । किनभने प्रथम हुनुको भारले सधैँ किचिरहन्थ्यो । अहिले सम्झँदा पो मैले धेरै कुरा मिस गरेजस्तो लाग्छ । म काठमाडौंमा मास्टर डिग्री पढ्न आएको १५ वर्ष भएछ । यो डेढ दशकमा पाँचवटा पार्टीमा पनि गइएन र ती पार्टीमा कसैले यसो रमाइलो गरौं न भनेर रक्सी पनि खुवाएनन् । किनभने कसैले त्यो रूपमा हेरिदिएनन् । मैले पिउन पाइन भन्ने अर्थमा यो भनेको होइन, केवल दृष्टिकोण बताएको हुँ । महेश त केही खाँदैन, केही गर्दैन, के बोलाउनु भन्छन् । अरे यार, म पनि मानिस हुँ, मभित्र पनि युवा मन छ । खै बुझेको ?
यस्तो मानिस पैसा कमाउने क्षेत्रमा जानुपर्नेमा साहित्य जस्तो अनुत्पादक क्षेत्रमा लाग्नुभएको छ, कस्तो लाग्छ ?
किनभने म मूर्ख हुँ । मैले विद्यालय र क्याम्मपस लेभलमा टप आउने विद्यार्थीको यसो सूची हेरेको थिएँ, केही अपवाद बाहेक कसैले पनि साहित्यलाई मूल व्यवसाय बनाएका रहेनछन् । बनाएकाहरू पनि अरूतिर सफल भएर बाँकी समय साहित्य वा कलाका अन्य पक्षलाई दिनुहुन्छ । नेपालको परिवेशमा र साहित्यको अवस्था हेर्दा उहाँहरू सही हुनुहुन्छ । किनभने बुद्धिमान् मानिस साहित्यमा लागिरहँदैन । यसो भन्नुको अर्थ मैले साहित्यलाई गलत भनेको होइन । नेपालमा साहित्यको अवस्था कस्तो छ भन्ने बुझाउन मात्र खोजेको हुँ । पूर्व प्रधानमन्त्रीजस्ता व्यक्तिले पनि मसँग आफ्ना गीत कविता अंग्रेजीमा अनुवाद गराएर पारिश्रमिक दिनुपर्छ भन्ने हेक्का राख्दैनन् भने अरूले के गर्दा हुन् । र, यसको अन्तर्य कस्तो छ, यति भनेपछि थप बुझाइरहनु नपर्ला ।
तपाईं कवि, आख्यानकार, समालोचक, प्राध्यापक, अनुवादकमध्ये बढी के हो ?
मेरो रहर सोध्ने हो भने म आख्यानकार हुँ । सिर्जनातर्फ मेरा १२ वटा कृति प्रकाशित भएकामा एउटा समालोचनाको छ र एउटा नाटकको । बाँकी सबै आख्यानका हुन्ः बालकथा, बालउपन्यास, किशोर उपन्यास र प्रौढ कथा सङ्ग्रह । अरू विधाचाहिँ आकस्मिकताले ल्याएका हुन् । प्राध्यापन जागिर हो भने अनुवादचाहिँ, दुई भाषा नेपाली र अङ्ग्रेजीबीच काम गर्ने भएकै कारण मेरो समयले ममाथि थमाइदिएको एउटा जिम्मेवारी हो । साथै जागिरले मात्रै घर नचल्ने अवस्थामा नुनतेलको टेवा पनि हो ।
तपाईं सर्जक बढी कि समालोचक ?
म सर्जकै बढी । मैले आफूलाई चिनाउँदा समालोचक हुँ भनेर कहिल्यै चिनाइनँ । तर, मलाई बजारले सधैँ समालोचक भन्छ । समालोचनाको एउटै मात्र पुस्तक छ मेरो, जब कि सिर्जनाका एक दर्जन । मेरा फुटकर रूपमा प्रकाशित सामग्री पनि सिर्जना नै बढी छन् । यद्यपि म सभासमारोहमा बोल्दा समालोचकको जिम्मेवारीमा बढी गएँ । पुस्तकहरूमाथि समीक्षा धेरै लेखेँ । देशमा सर्जक धेरै र समालोचक सङ्ख्यात्मक हिसाबले निकै कम रहेकाले होला, मलाई मेरो समयले बढी समालोचक भनेर चिनाउन चाहृयो । यो एउटा संकेत पनि होः समालोचनामा केही नयाँ हुनु जरुरी छ, कोही नयाँ मान्छे आउनु जरुरी छ । त्यो कुरा मैले बुझेको छु ।
कतिपयले के भन्छन् भने तपाईंले एक-दुई बिधामा मात्र हात हालेको भए सिर्जनाको गुणस्तर नै फरक हुन्थ्यो, सबैतिर हातहाल्दा स्तर घट्ने सम्भावना छ । के भन्नुहुन्छ ?
सत्य हो । तर, जवानीमा सबै प्रेमी र सबै कम्युनिष्ट बन्छन् भनेजस्तो, धेरैजसो लेखक पनि छरपस्ट हुँदा रहेछन् । अपवाद जरुर छन्, तर कम छन् । म गम्भीर बनेको छु हिजोआज । आख्यान मेरो रहर र प्रेम हो । छोड्दिन होला । समालोचनाचाहिँ समयले नै छोड्न नदिने लक्षण छ । अरू विधा बिस्तारै टाढिँदै जानेछन् । म अबको समयमा आफूभित्रको सर्जकलाई आख्यान लेखनमा केन्दि्रत गर्नेछु ।
तर मानिसहरू भन्छन्, तपाईं सर्जक र समालोचकभन्दा राम्रो अनुवादक हुनुहुन्छ । यसमा कति प्रतिशत सत्यता छ ?
यो सत्य होइन । अनुवादले मेरो भाषिक ज्ञानको मात्रै मापन हुन्छ, सिर्जन क्षमताको हुँदैन । म देशभरि हिँडिरहन्छु, र कहिलेकाहीँ विदेशमा पनि । मान्छेहरूलाई म अनुवाद हुँ भन्ने कुरा त थाहा छ, तर उनीहरू मलाई मेरो सिर्जनाकै कुरा सुनाउँछन् र माया गर्छन् । मैले अनुवाद गरेका सानाठूला किताबको सङ्ख्या पचास नाघ्यो होला, तर पाठकलाई धराबासीको राधा र प्रतिनिधि नेपाली कविताको अनुवाद थाहा छ, बाँकी खासै थाहा छैन । मलाई सुनाउँदैनन् । त्यसैले, तपाईंले सुनेको कुरा आंशिक मात्रै सत्य हो, पूर्ण सत्य होइन ।
म यो स्वीकार गर्छु, कि म अलि अराजक अनुवादक हुँ, परम्परागत होइन । मैले करिब ५ वर्ष पोखरा विश्वाविद्यालयका स्तानकोत्तर तहका विद्यार्थीलाई अनुवाद सिद्धान्त पनि पढाएँ । आफैँ आनुवाद पनि गर्छु । नेपाल प्रज्ञाप्रतिष्ठानको अनुवाद विभागको पत्रिका ‘रूपान्तरण’को कार्यकारी सम्पादक भएर पनि काम गरेँ । यी सबै जिम्मेवारीले मलाई अनुवादको सजिलोअप्ठ्यारोको बोध गराएको छ । नेपाली साहित्यबाट ठूलो सङ्ख्यामा कृतिहरू अनुदित छन्, तर खासै चलेनन् । मैले यसको यथार्थको सुराकी गर्ने कोसिस गरेँ । मैले थाहा पाएँ, हामी प्राविधिक अनुवाद गरिरहेका छौँ । हामीलाई अनुदित भाषाको शुद्धता र शब्दशः अनुवादको सटिकतामा बढी ध्यान छ । मैले यो कुरा तोडेको छु । कसैले मूल पाठ र मेरो अनुवादलाई रुजु गरेर हेर्यो कसैले भने म फेल हुन्छु । प्राविधिक र कार्यालयीय अनुवादमा, त्यसैले, म कहिल्यै लागिन ।
साहित्यमा शब्दभन्दा भाव महत्त्वपूर्ण हुन्छ । म भावका पछाडि लागेँ, जसले गर्दा मूल स्रोतका कतिपय शब्द नै हराउँछन् मेरो अनुवादमा र हुँदै नभएका पनि आउँछन् । अर्को संस्कृतिमा जाँदा बेमेल हुने बिम्ब नै हराइदिन्छन्, र त्यही भाव बोक्ने तर नयाँ बिम्ब आइदिन्छन् । स्रोत सामग्रीको भाषा जस्तो पो होस्, अनुदित भएर आउँदा म मेरै भाषामा ढाल्छु । यस कारण मेरो अनुवाद अलि अराजक छ । म सम्झौता गर्दिनँ ।
आज पनि अंग्रेजी भाषामा लेखिएका कुरा पढ्न नजान्ने नेपालीहरूको संख्या ९० प्रतिशतभन्दा बढी छ । यस्तो अवस्थामा अंग्रेजी भाषामा लेखिएका सामग्रीहरूको अनुवादको बजार ठूलो छ भन्ने लाग्दैन ।
Comments
Post a Comment