सप्तरी – वैदेशिक रोजगारीमा युवा पलायन हुने क्रम बढिरहँदा सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर–१२ खोरिया टोलका दुई युवाले गाउँमै राम्रो आम्दानी गर्न थालेका छन् ।
स्थानीय २३ वर्षीय शाहिद अली र उहाँका मामा २४ वर्षीय आशिक अलीले जिल्लामै पहिलो पटक युरोपीयन टर्की पालन गरेर नयाँ व्यवसाय थालेका हुन् ।
मामा आशिकको सल्लाह अनुसार शाहिदले गएको वैशाखमा काठमाडौंबाट २ सय टर्कीको चल्ला ल्याएर गाउँमा टर्की पालन सुरु गर्नुभयो । सुरुमा साढे तीनलाख रुपैयाँ खर्च गरेर खोर निर्माण गरी टर्की पाल्न थाल्नुभएका अलीको व्यवसाय अहिले फस्टाउँदै गएको छ । उहाँले अहिलेसम्म १ सय भन्दा बढी टर्की विक्रि गरिसक्नु भएको छ ।
अलीले सुरुमा एउटा चल्लालाई साढे पाँच सयमा किन्नुभएको हो । अहिले एउटा टर्की कम्तीमा ६ हजार रुपैयाँमा बिक्री भैरहेको छ । प्रति किलो एक हजार रुपैयाँमा बिक्री हुने भाले टर्की १० देखि १३ किलोसम्म हुने गर्छन् भने पोथी पाँचदेखि आठ किलोसम्मको हुने गर्छन् ।
जिल्लामै पहिलो पटक नौलो व्यवसायको शुरुवात गरेकोले टाढाटाढाबाट मान्छेहरु हेर्न आउने गरेको र टर्की किन्नसमेत आउन थालेको शाहिद अलीले बताउनुभयो । ‘टर्कीको मासु स्वादिलो हुनुका साथै कोलस्ट्रोल र फ्याट एकदमै कम हुनुका साथै तागतिलो हुने गरेका कारण मुटुरोग, मधुमेह, युरिक एसिडलगायत विरामीहरुका लागि समेत लाभदायक हुने कारण टर्कीको माग बढ्दै गएको छ’ अलीले भन्नुभयो ‘हामीकहाँ चल्ला किन्न समेत मान्छेहरु आउन थालेका छन् ।’
माग बढ्दै गएपछि अहिले चल्ला पाउन पनि मुश्किल छ । आशिक अलीले भन्नुभयो, ‘आफ्नै फार्ममा रहेको टर्कीले अण्डा दिन थालेकोले चल्ला उत्पादन गरी यो व्यवसायलाई थप विस्तार गर्ने सोचमा छौँ ।’ उनीहरुको फार्मबाट इटहरी, विराटनगर, ओखलढुङ्गा, धरानलगायतका सहरहरुमा टर्की पठाउन थालिएको छ ।
तर पनि माग अनुसार टर्की पुर्याउन नसकिएको अलीले बताउनुभयो । उहाँले भन्नुभयो ‘यो व्यवसायबाट हामी अत्यन्तै उत्साहित छौं, यसलाई सप्तरी जिल्लामा ब्राण्डकै रुपमा स्थापित गर्ने संकल्पका साथ अगाडि बढीरहेका छौँ ।’
टर्कीलाई कुखुरालाई खुवाउने जस्तै दाना र हरियो घाँसको मुख्य आहारा चाहिन्छ । टर्कीको मासु खाने पारखीहरुको संख्या विस्तारै बढ्दै गएको छ ।शाहिद स्नातक गरेर मोरङ्गको विराटनगरमा रहेको सरोचियाको माध्यमिक विद्यालयमा पढाउनुहुन्थ्यो । शिक्षण पेशामा रहेका शाहिदलाई आफ्नै मामा आशिकले बाहिर बस्नुभन्दा बरु आफ्नै गाउँमा टर्की पालन गरेर राम्रो आम्दानी कमाउन सकिने योजना सुनाउनुभयो ।
टर्की पालन गरेर राम्रो आम्दानी गर्न सकिने कुरा सुनाएपछि शाहिदले विराटनगरको जागिर छाडेर टर्की पालन शुरु गर्नुभयो । सुरुमा उनीहरु दुवैजनाले थुप्रै आलोचना खेप्नुपर्याे ।
जिल्लामै पहिलो पटक टर्की पालन व्यवसाय राम्रो बन्दै जान थालेपछि घरपरिवार, आफन्तजनका साथै समाजले पनि उनीहरुलाई विश्वास गर्न थाले
Comments
Post a Comment