दुवईमा अलपत्र तीन जना युवाको उद्धार गरिदै



निर्मला घिमिरे

काठमाडौं। झापा घर भई वैदेशिक रोजगारका क्रममा दुवई पुगेर अलपत्र परेका तीन जना युवाहरुको उद्धार गरिने भएको छ। अलपत्र पर्नेहरुमा झापाका २५ वर्षीय एलिस शर्मा, २६ वर्षीय दुर्योधन राजवंशी र २६ वर्षकै हरिवंश राजवंशी छन्। योङ मेनपावर कम्पनी मार्फत प्याकिङ कामका लागि मासिक ८ सय रियाल भनेर गएका उनीहरु लोड अनलोड, फोहोर उठाउने, जस्ता काममा अहोरात्र खटिँदासमेत तलब नपाएपछि अलपत्र परेका थिए।

उनीहरु दुवईमा तीन महिनादेखि अलपत्र परेपछि आफू अलपत्र परेको जानकारी आफन्तलाई गराएका थिए। पीडितका आफन्तहरुले योङ मेनपावर कम्पनीलाई ठगी विरुद्धको रिट दायर गरेका थिए। पीडितका आफन्त र मेनपावर कम्पनी वीचमा वैदेशिक रोजगार विभागले छलफल गराएको थियो।

उनीहरुबीच छलफल भएपछि विभागले दुवै पक्षको राय लिएर मेनपावर कम्पनीलाई पीडितलाई तत्काल उद्धार गर्न र आवश्यक क्षतिपूर्ति बेहोर्न समेत निर्देशन दिएको छ। मेनपावर कम्पनीले उनीहरु कार्यरत इभरगोल्ड मिडल इष्ट क्लिनिङ सर्भिसेस् कम्पनीसँग छलफल गरेर उनीहरुलाई १५ दिन भित्रमा नेपाल फर्काउने बताएको छ।

तर मेनपावरले खासै चासो नदिने र पीडितका आफन्तसँग भेट्न विभागले बोलाउँदा समेत अटेर गर्ने गरेको उनीहरु बताउँछन्। पीडितका आफन्तहरुले मेनपावर कम्पनीले अहिले सम्मको सम्पूर्ण खर्च र क्षतिपूर्ति मेनपावर कम्पनीले जसरी पनि बेहोर्नु पर्ने माग राखेका छन्। विभागले मेनपावर कम्पनी र पीडितका आफन्त बीच छलफलका लागि बोलाए पनि मेनपावर कम्पनीले भोलि भन्दै झुक्याउँदै आएको पीडितका आफन्तको गुनासो छ।

विभागले पटक पटक बोलाउँदा पनि अटेर गरेपछि मेनपावर कम्पनीको कारोबार समेत र बन्द गर्ने चेतावनी विभागले दिएको छ। विभागले तत्काल पीडितको उद्धार गर्न सम्बन्धित कम्पनीलाई आग्रह गरिरहेको बताएको छ।

Comments