काठमाडौँ । नेपाल अटो मोबाइल्स डिलर्स सङ्घको मेला ‘नाडा अटो सो’ मा करीब एक अर्ब बराबरको कारोवार भएको छ । यही भदौ २६ देखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको मेलामा नयाँ ब्राण्डका दुई पाङ्ग्रे र चार पाङ्ग्रे, ठूला सवारी साधनका साथै तीनका पार्टस्पूर्जाको कारोवार भएको छ ।
करीब ६० हजार दर्शकले अवलोकन गरेको उक्त मेलामा देशका विभिन्न स्थानबाट नयाँ मोडलका गाडी तथा विदेशी गाडीको बिक्रीका लागि स्वदेशमा रहेका सबै मुख्य ब्राण्डको सहभागिता थियो । अन्तर्राष्ट्रिय तहका नाम चलेका विभिन्न कम्पनी तथा ब्राण्डका सामग्रीमा सहुलियत तथा छुटको व्यवस्थासमेत गरिएको थियो ।
सङ्घका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद दुलालले यस क्षेत्रले मुलुकको राजश्वमा करीब १७ प्रतिशत योगदान पु¥याएकोे जानकारी दिँदै सो क्षेत्रको विकासका लागि स्वदेशमै उत्पादनको व्यवस्था, आयातित सामानमा कर सहुलियत हुनुपर्नेमा जोड दिए।
चारपाङ्ग्रे साधन तथा कारको आयातमा करीब २५६ प्रतिशतसम्म भन्सार राजश्व तिर्नुपर्ने हुँदा यसको लागत धेरै हुने गरेको व्यवसायी बताउँछन् । यस क्षेत्रले कूल गार्हस्थ्य उत्पादनमा वार्षिक २५ प्रतिशत योगदान गरेको सङ्घले जनाएको छ । मेलामा विभिन्न कम्पनीका ७१ बिक्री कक्ष राखिएको थियो ।
व्यवसायीले सवारी साधनमा सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउन माग गरेपछि सरकारले सर्वसाधारणले आम्दानी गरेर सक्षम भएपछि मात्र सवारी साधन खरिद गर्न आग्रह गरेको थियो । विद्युतीय सवारी साधन, ठूला सार्वजनिक सवारी साधनको आयातमा कर छुट गर्ने जनाइएको छ।
Comments
Post a Comment