हिमालको पानी निर्यात गर्न जापानले दियो नेपाललाई सुझाव


काठमाडौँ । जापानको सत्तारुढ डेमोक्रेटिक पार्टीका नेता, सांसद र व्यवसायी सम्मिलित प्रतिनिधिमण्डलले हिमालय क्षेत्रको पानी विदेश निर्यात गरेर आम्दानी बढाउन नेपाललाई सुझाव दिएको छ।

नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलले आज वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँगको भेटमा नेपालको हिमालयमा रहेको पिउन योग्य पर्याप्त पानी निर्यात गर्न सकिने बारेमा सुझाव दिएको हो।

सो अवसरमा मन्त्री बस्नेतले पानी विदेश बेच्नेबारे खानेपानी मन्त्रालयले योजना बनाई सम्भाव्यता अध्ययन भइरहेको बताएको मन्त्री बस्नेतका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए।

उनले नेपालमा बढ्दो शहरीकरणसँगै फोहर व्यवस्थापन जटिल र चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै त्यस क्षेत्रमा जापानले प्रयोगमा ल्याएको विधि सफल भएकाले नेपालमा पनि त्यस्तै दीर्घकालीन समाधानको विधिमा जान लागिएको बताए।

यस्तै विकास र वातावरणबीच सन्तुलन कायम गर्ने चुनौती रहेको चर्चा गर्दै उनले विकासलाई दिगो बनाउन वातावरणमैत्री नीति र विधि तय गर्ने काममा सरकार लागेको उल्लेख गरे।

नेपालले वन क्षेत्रलाई आर्थिक विकासको माध्यम बनाएर कार्ययोजना बनाएको भन्दै उनले मुलुकका ७ वटै प्रदेश र ७५३ वटै स्थानीय तहमा वनमा आधारित उद्योग स्थापना गर्न लागिएको बताए।

भेटमा प्रतिनिधिमण्डलको नेतृत्व गरेका त्यहाँको डेमोक्रेटिक पार्टीका नेता यसुहिरो नाकाइले नेपालको फोहर व्यवस्थापनमा सहयोग गर्न आफ्नो सरकार तयार रहेको बताए। पूर्वसांसद गो सिनोहराले वातावरण प्रदूषण नेपालको मात्र नभई विश्वकै साझा समस्या भएकाले त्यसमा सबै मिलेर काम गर्नुपर्ने सुझाए।

टोली सदस्य तथा पूर्वसांसद माचुदाले विश्वभर अब सबैभन्दा ठूलो सङ्कट पानीको आउने भन्दै नेपालको हिमालय क्षेत्रमा रहेको पर्याप्त पानीलाई विदेशमा बेचेर मनग्य पैसा कमाउन सकिने धारणा व्यक्त गरेका थिए। विकास र वातावरणबीच सन्तुलन कायम गरेर अघि बढ्न टोलीको सुझाव थियो।

Comments