
हामी चाहन्छौं, बच्चाको स्मरण क्षमता राम्रो होस् । उनीहरुको मस्तिष्कले कुनैपनि कुरा चाडै बुझ्न र सम्झन सकोस् । त्यसो भयो भने किताबको वा कक्षाकोठाको कुरा सजिलै बुझ्न सक्नेछन् । पढाईमा अब्बल हुनेछन् । परीक्षामा सर्वोत्कृष्ट नतिजा हासिल गर्नेछन् ।
यसका लागि तपाईहरु के गर्नुहुन्छ ?यसबारे खोज-अनुसन्धान निरन्तर जारी छ । र, हालैको एक अध्ययनले नयाँ तथ्य बाहिर ल्याएको छ ।
हरियालीले स्मरण क्षमता बढाउने
हराभरा रुख र विरुवाले हामीलाई अत्यावश्यक अक्सिजनमात्रै दिँदैन । यसले वरिपरिको वातावरणलाई स्वच्छ, सुन्दर बनाउँछ र मानिसहरुलाई स्वस्थ बनाउँछ ।
यतिमात्रै होइन हरियाली युक्त वातावरणले बच्चाको स्मरण क्षमता पनि बढाउने तथ्य पत्ता लागेको छ । यस कुराको खुलासा बेलायतका वैज्ञानिकहरुले आफ्नो एक शोधमा गरेका हुन् ।
शोधमा संलग्न बेलायतस्थित युनिभर्सिटी कलेज लण्डनका शोधकर्ताहरुका अनुसार हराभरा रुख-विरुवायुक्त वातावरणको प्रभाव बच्चाको स्मरणशक्तिमा पनि पर्छ ।
ती बच्चाहरु जो रुख विरुवाले घेरिएको हरियालीले भरिएका शहरहरुमा रहन्छन्, उनीको स्मरण क्षमता अन्य बच्चाको तुलनामा राम्रो हुने कुरा शोधमा पाइयो ।कहाँ र कसले गरे अध्ययन ?
‘बि्रटिश जर्नल अफ एजुकेशन साइकोलोजी’मा प्रकाशित उक्त शोधपत्रमा हरियालीको एकाग्रतासँग गहिरो सम्बन्ध हुने कुरा बताइएको छ । यस्तो हरियालीयुक्त स्थानले बच्चाको ध्यान भंग हुनबाट रोक्ने र उनीहरुको पढाईमा उपयोगी हुने शोधपत्रमा उल्लेख छ ।
शोधकार्यमा संलग्न युनिभर्सिटी कलेज लण्डनकी एरिनी फ्लोरीले भनेकी छिन्, ‘हाम्रो अध्ययन केवल बच्चाहरुको प्रभावकारी विकासको लागि मात्रै होइन, राम्रा शहरी योजनाहरु तयार गर्नको लागि पनि प्रयोग गर्न सकिन्छ ।’
‘शहरमा रुख-विरुवाको आवश्यकता हावालाई सफा र स्वच्छ राख्न मात्रै होइन, बच्चाको शिक्षाको स्तरलाई प्रभावकारी बनाउनको लागि पनि पर्छ भन्ने कुरा अध्ययनबाट थाहा भयो’ फ्लोरीले भनेकी छिन्, ‘यसैले हामीले आफ्नो वरिपरिको इलाकालाई हराभरा बनाउन आवश्यक छ ।’
गाउँ एवं नगरको प्रशासनले मात्रै होइन आम नागरिकले पनि रुखविरुवा लगाउने बारेमा सोच्नुपर्छ । आखिरमा यो तपाईं हाम्रा बच्चाको भविष्य सँग जोडिएको सवाल पनि हो ।
कसरी गरियो ?
अध्ययनमा बेलायतका विभिन्न शहरमा बस्ने ११ वर्ष उमेर समूहका ४ हजार ७ सय ५८ बच्चाहरुलाई समावेश गरिएको थियो । अध्ययनमा उनीहरुको स्मरण क्षमताको स्तर पत्ता लगाइएको थियो ।
यसबाट हरियाली र बच्चाको स्मृति बीच गहिरो सम्बन्ध रहेको कुरा अगाडि आएको थियो छ । जुन बच्चाहरुको घर वरिपरि रुखविरुवा थियो उनीहरुको स्मरण शक्ति अन्य बच्चाको तुलनामा धेरै राम्रो थियो ।
के देखियो नतिजा ?
फ्लोरी भन्छिन्, ‘हाम्रो शोधले संज्ञात्मक ज्ञानमा हरियालीको सकरात्मक भूमिकालाई बताउँछ । यसको सिधा असर बच्चाको शैक्षिक उपलब्धिमा पर्छ । खासगरि गणित विषयमा यसको सबैभन्दा ठूलो असर पर्छ जसमा धेरै शुत्रहरु याद गर्नुपर्ने हुन्छ ।’
Comments
Post a Comment