२९ भदौ, काठमाडौं । ललितपुरमा रहेको हरिसिद्धि इँटा टायल कारखाना बन्द भएको वर्षौ भइसकेको छ ।
कारखाना बन्द भएपछि त्यहाँका स्थानीयले कौडी भाउमा दिएको जग्गा भूमाफियाले बेच्न पाइँदैन भनेर आवाज उठाइरहेका छन् । शक्तिकेन्द्रको आडमा जग्गा बिक्री गर्न लागेको भन्दै खोजतलास डटकमले ‘जनप्रतिनिधि कि जग्गा दलाल’ शीर्षकको समाचार प्रकाशन गर्यो ।यो समाचारविरुद्ध सुशील खनालले दिएको जाहेरीको आधारमा सम्पादक राजु बस्नेतलाई प्रहरीले पक्राउ गर्यो । सर्वोच्च अदालतको आदेशमा रिहा भएका उनलाई प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेर फेरि हिरासतमा राखेको छ ।
बस्नेतले बयानका क्रममा दृष्टि साप्ताहिकको अनलाइन संस्करणबाट सामाचार साभार गरेको हो भनेपछि प्रहरीले सप्ताहिकका प्रकाशक तथा सम्पादक शम्भु श्रेष्ठलाई बोलायो । प्रहरीले यो विषयमा श्रेष्ठसँग बयान लिइसकेको छ ।
लामो समयदेखि पत्रकारितामा सक्रिय श्रेष्ठ विद्युतीय कारोबारसम्बन्धी ऐनको दुरुपयोग गरेर आफूलाई बयानका लागि बोलाएको बताउँछन् । खोजतलाशका सम्पादक बस्नेतलाई पनि अनाहकमा थुनामा राखिएको उनको धारणा छ ।
प्रस्तुत छ, श्रेष्ठसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश :
तपाईंलाई प्रहरीले किन बोलाएको रहेछ ?
दृष्टिन्यूजमा प्रकाशित एउटा समाचार खोजतलास अनलाइनले साभार गरेेको रहेछ । खोजतलासको समाचारले मानहानी भयो भनेर उजुरी परेछ । त्यही आधारमा खोजतलासका सम्पादक राजु बस्नेतलाई पाँच दिनदेखि प्रहरीले थुनेर राखेको छ ।
बस्नेतले बयानका क्रममा यो समाचार ‘मैले आफैं उत्पादन गरेको होइन, दृष्टिन्यूजबाट साभार गरेको हुँ’ भनेर बयान दिएछन् । अनुमति लिएर साभार गरेको पनि भनेछन् । त्यसपछि ललितपुर प्रहरीले त्यो समाचार दृष्टिबाट साभार गरिएको हो कि होइन बुझ्नुपर्यो भनेर मौखिक रुपमा बोलाए ।
जानुभयो त ?
दृष्टिको समाचार ककसले साभार गर्छ-गर्छ ? त्यही आधारमा म कहाँ-कहाँ बयान दिन जाने ? भोलि झापाको कुनै सञ्चार माध्यमले यसरी नै अर्को समाचार साभार गर्ला रे । अनि अनुमति दिएको हो कि होइन भन्न म झापा पुग्नु ? भनिदिएँ ।
साभार नै गरेको आधारमा कोही व्यक्ति पक्राउ पर्छन् ? पक्राउ गर्ने हो भने त्यही समाचार दृष्टिको अनलाइनमा अपलोड गरेको छु । हाम्रो पत्रिकामाथि मुद्दा पर्नुपर्थ्यो । यदि म माथि मुद्दा परेको होइन भने के आधारमा तपाईँ कहाँ आउने भनेपछि उनीहरूले हामी सल्लाह गरेर फोन गर्छौं भनेर फोन राखे ।
त्यसपछि प्रहरीको फोन कहिले आयो ?
भोलिपल्ट आयो । तपाईँ नआएसम्म यो विषय नुङ्गनिे भयो भनेर फोन गरे । मलाई पटकपटक किन टर्चर गरिराख्नु भएको छ ? मेरो विरुद्ध मुद्दा परे पो म आउनु भने । होइन भने अदालतले बोलायो भने आउँछु भनेपछि सल्लाह गरेर फोन गर्छौं भनेर फोन राखे ।
तेस्रो पटक पनि फोन आयो ?
आयो, तर कुरा त्यही पुरानै । तपाईँ नआउँदासम्म यो विषय नटुङ्गनिे भयो । तपाईँले बयान नदिँदासम्म यो मान्छेलाई अदालतमा बुझाउन मिलेन भनियो भने ।
मैले समाचार साभार गरिएकै भरमा सम्पादकलाई बोलाउनुपर्छ भनेर कुन कानुनमा छ भनेर सोधेँ । अनलाइनको सम्पादक आफैं प्रहरी कार्यालयमा उपस्थित हुनुपर्छ भन्ने कानून छ भन्ने मलाई थाहा छैन । यदि त्यस्तो कानून बनेको छ भने कारण खुलाएर पत्र दिनुहोस्, अनि मात्रै म बयान दिन आउँछ भनिदिएँ । म एउटा अनलाइनको सम्पादक मात्र नभई प्रेस स्वतन्त्रताको पक्षमा लडेको मान्छे पनि हुँ भने । त्यसपछि उनीहरुले मलाई पठाए ।
प्रहरीले पठाएको पत्रमा के भनिएको छ ?
विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दामा अनुसन्धानको सिलसिलामा निजले बयानको क्रममा ‘जनप्रतिनिधि कि जग्गा दलाल’ शीर्षकको समाचार निजले दृष्टिन्यूजबाट अनुमति लिई साभार गरेको हुँ भनेकाले दृष्टिका सम्पादक शम्भु श्रेष्ठलाई आजै परिसर उपस्थित हुन आउनु भनिएको छ ।
Comments
Post a Comment