
भदौ १७ -विराटनगर महानगरपालिकामा बम विस्फोट गराउने तीन जना पक्राउ परेका छन् । गत साउन २७ गते दिउँसो २ बजे महानगरपालिकामा बम विस्फोट गराईएको थियो । उक्त बम विष्फोट घटनामा संलग्न रहेका ६ जनामध्ये ३ जना पक्राउ परेका हुन् ।पर्नेहरुमध्ये १ जनाको मात्र नाम खुलाईएको छ । उक्त बम विष्फोटमा जयकृष्ण गोइत नेतृत्वको सशस्त्र भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले गराएको प्रहरीले निष्कर्ष निकालेको छ ।
विष्फोटमा संलग्नमध्ये एक जनालाई विराटनगरबाट र दुई जनालाई सिरहा जिल्लाबाट आइतबार बिहान २ बजे पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई मोरङ प्रहरीको हिरासतमा राखेर थप सोधपुछ गर्ने काम भइरहेको छ । उनीहरुविरुद्ध विष्फोटन सम्बन्धी र ज्यान मार्ने उद्योगमा मुद्धा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी प्रहरीले गरेको छ ।
पक्राउ परेका मध्ये मोरङको जहदा गाउँपालिकाका मनोज सिंहको मात्रै नाम खुलेको छ । अरु दुई जनाको नाम प्रहरीले सार्वजनिक गरेको छैन । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले छ जनाको संलग्नतामा घटना गराइएका कारण थप अनुसन्धान गर्नुपर्ने भन्दै पक्राउ परेका तीन जनाको विवरण दिन अहिले दिन नमिल्ने बताए ।
Comments
Post a Comment