चितवन । व्यवसायीले आफ्नै लगानीमा सुविधासम्पन्न फलफूल तथा तरकारी बजार स्थापना गरेका छन्।
भरतपुर महानगरपालिकास्थित लायन्स चोकमा रहेको तरकारी तथा फलफूल थोक बजार हटाउने भएपछि व्यवसायी आफैँले बजार स्थापना गरेका हुन्। भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा १६ वर्षका लागि तीन बिगाहा जग्गा भाडामा लिई व्यवसायीले आफ्नै लगानीमा रु १६ करोड लगानी गरी तरकारी बजार स्थापना गरेका हुन्। सो बजारमा २१७ कक्ष रहेको छ।
फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घको सक्रियतामा ७५ व्यवसायीले कृषि प्रवद्र्धन बजार विकास प्रालि निर्माण गरेर थोक तथा खुद्रा बजार स्थापना गरेका हुन्। प्रालिका प्रबन्ध निर्देशक थिरप्रसाद धितालका अनुसार बजारभित्र सडक कालोपत्रबाहेक अन्य काम सम्पन्न भएको छ। अगामी असोज १ गतेदेखि बजार सञ्चालनमा आउने छ। व्यावसायिक प्रयोजनका लागि २८, थोकका लागि १३७, खुद्रा व्यवसायका लागि ३८ तथा कृषकका लागि १४ सटर रहेका छन्।
तरकारी बजारमा चिया खाजाका लागि दुई रेष्टुरेण्ट, शौचालय, पर्याप्त पार्किङ तथा खानेपानीको व्यवस्था छ। प्रालिका अध्यक्ष शालिग्राम घिमिरेले काठमाडौँको कालिमाटी बजारभन्दा व्यवस्थित बजार आफूहरूले निर्माण गरेको दाबी गरे।
गत फागुनदेखि निर्माण थालिएको सो बजार छोटो अवधिमै सम्पन्न हुन लागेको छ। सो बजारमा चितवनसहित अन्य जिल्लाबाट तरकारी बिक्रीका लागि ल्याउने गरिएको छ। फलफूल तथा तरकारी व्यवसायी सङ्घका जिल्ला अध्यक्षसमेत रहनुभएका धितालका जुम्ला, मुस्ताङलगायत जिल्लाबाट स्याउ ल्याउने गरिएको छ।
सो बजारबाट दैनिक ६० टन तरकारी खरिद बिक्री हुँदै आएको छ। सत्तरी प्रतिशत तरकारी बिक्रीका लागि काठमाडौँसहित, गोरखा, लम्जुङ, तनहुँ, मकवानपुर, धादिङ, कास्की, रुपन्देहीलगायतका जिल्ला लगिन्छ। सो तरकारी बजारमा दैनिक रु एक करोडभन्दा बढीको कारोबार हुँदै आएको छ।
Comments
Post a Comment