
१४ असोज, मोरङ । विराटनगर- १७ का २० बर्षका मोहम्मद सद्दाम हुसेन वैदेशिक रोजगारीका लागि दुबई जाने तयारीमा थिए । उनको भिसा लागिसके पनि खर्च जुटाउन सकेका थिएनन् । त्यही खर्च निकाल्न उनले गाउँकै खलिल मियाका छोरा मोहम्मद अस्फाकलाई अपहरण गर्न साथी मोहम्मद आरिफ आलमसँग योजना बनाए ।
गौतमबुद्ध स्कुल कक्षा १०मा अध्ययनरत अस्फाक, हुसेन र आलम साथी साथी हुन् । गत वैशाख १ गते उनीहरुले विराटनगर-१५ दुई नम्बर ढाट नजिकै सँगै बसेर मदिरा सेवन गरे । मदिरा सेवनपछि गत भदौ ३० गते नै अपहरण गर्ने योजना बनाएका आलम र हुसेनले अस्फाकलाई लिएर विराटनगर-१४ र १७ को सिममा पर्ने भित्री सडकमा पुगे ।रातको समय थियो । मदिरा सेवन गरेका उनीहरुले अस्फाकको टाउकोमा ढुंगा प्रहार गरे । उनी सोही स्थानमा ढले । अस्फाकलाई बन्धक बनाएर खलिलसँग फिरौती माग्ने योजना थियो । तर ढुंगा प्रहार गर्दा ढलेका अस्फाक उठेनन् । उनको घटनास्थलमै मृत्यु भयो ।
विराटनगरमा केही दिनअघि हृयुमपाइपभित्र शव भेटिएको घटनामा अनुसन्धान गर्दा प्रहरीले हत्यामा संलग्नको आशंकामा दुई जना पक्राउ गरेको छ । उनीहरुसँग गरिएको बयानको आधारमा प्रहरीले वैदेशिक रोजगारीमा जान खर्च जुटाउने उद्देश्यले साथीको हत्या भएको निश्कर्ष निकालेको छ ।
अस्फाकको मत्यु भएपछि त्यत्तिकै छाडेर गएका उनीहरुले बिहान ३ बजे आएर शव हृयुम पाइपभित्र हालिदिए र सुरु भयो बुबासँग पैसाको बार्गेनिङ ।
आफूहरुले छोरोका अपहरण गरेको भन्दै उनीहरुले असोज २ गतेबाट ५० लाख फिरौती माग्न सुरु गरे । समय बितेसँगै फिरौती रकम घट्दै थियो । अन्त्यमा उनीहरु ५ लाखमा छोरालाई छाड्न सहमत भए । तर बार्गेनिङ चलिरहेकै अवस्थामा गत ७ गते हृयुम पाइपभित्र सडेको अवस्थामा शव फेला पर्यो । जीउ र टाउको छुटिएको अवस्थामा भेटिएको शव चिन्न सक्ने अवस्थामा थिएन ।
Comments
Post a Comment