जितेन महतो अर्थात् साइकलका ‘डाक्टर


२६ भदौ, काठमाडौं । १४ वर्षको उमेरमा साइकल पसलबाट ८ सय रुपैयाँ चोरेर भागेका धारा महतोलाई कहाँ जाने भन्ने नै एकीन थिएन । न त्यो ८ सयले कहिलेसम्म पुग्छ भन्ने नै सोचेका थिए ।

३७ वर्षअघिको त्यो दिन सम्झँदा अहिले जितेन बनिसकेका धारा दंग पर्छन् । गरिबीले आक्रान्त भएर घर छाडेर हिँडेका उनी अहिले सन्तुष्ट छन् । केले मिल्यो त सन्तुष्टि ? जितेनको जवाफ छ, साइकल ।यद्यपि, साइकल मात्रैले भने जितेन सन्तुष्ट बनेका होइनन् । उनी सोच्ने तरिका बदलेर सन्तुष्ट भएका हुन् । होइन भने त उनीसँग अहिले पनि दुःख पर्याप्त छन् ।

पानी पर्दा उनी पनि यही खाल्डाखुल्डी भएका बाटोमा हिँड्छन् । घाम लागेको दिन स्वास रोकिएला जस्तो धुलो भोगेका छन् । कतिपटक सयको सामानलाई डेढ सय तिरेको घर आएपछि थाहा पाएका छन् ।

साँघुरो कोठामा त्यो पनि भाडाको बसाई । दुई सन्तान र श्रीमतीको पालनपोषणको जिम्मेवारी । उनी हाँसेरै सुनाउँछन्, ‘ऋण लागेको छ । पैसा कमाउन सकेको छैन । यसो हेर्दा त केही पनि छैन नै । तर पनि म खुसी छु । धेरै सम्पत्ति भएर पो को खुसी छ र ?’

साइकलमा अल्झेको मन

जितेनलाई साइकल देखेदेखि नै हो चलाउन मन भएको । आफूलाई चलाउन नआए पनि अरुले चलाएको हेरेर दंग पर्थे । साइकल यति सहजै पाइने बेला पनि थिएन । बुढो साइकल पनि फाट्टफुट्ट कतै कतै मात्र देखिन्थे । जब साइकल देखिन्थ्यो, जितेनको आँखा त्यसबाट पर जाँदैन थियो ।

‘अरुले साइकल चलाएको देखेर आहा ! मैले पनि चलाउन पाए भन्ने कल्पनामा हराइरहेको हुन्थेँ । हाम्रोतिर पोखरी हुन्थ्यो । पोखरीमा नुहाउन जाँदा पानीमा साइकल चलाएको जस्तै गरी खुट्टाले पानी चलाउँदै रमाइलो गर्थें,’ उनले बाल्यकाल सम्झिए ।

कसैले साइकल चलाएको देखेपछि एकपटक दिनु न भनेर पनि धेरैसँग मागे । तर, दिने कसले ? बच्चाले चलाउने कुरा होइन भनेर उनले हप्की खानु पर्थ्यो ।
‘धेरै मागेँ । तर दिँदै दिँदैनथे । तिमी बच्चाले चलाउने कुरा होइन यो भनेर पठाउँथे । त्यो बेला निकै कम मान्छेसँग मात्रै साइकल हुने हुँदा इच्छा भएर पनि चलाउन पाइहाल्ने अवस्था थिएन,’ उनले भने ।

१२ वर्षतिरको हुँदा हो, जितेन दिन रात साइकलकै कल्पनामा हराउन थाले । कतै साइकल देख्दा टोलाएर हेरिरहने । काठ, पानी सबैमा साइकलको कल्पना गर्ने । एक दिन साइकल पसल खोज्दै जाँदा उनी साइकल बनाउने पसलमा पुगे ।

उनी त्यही पसलमा साइकल बनाएको हेरेर दिन बिताउन थाले । उनलाई साइकल एकपटक छुन पाए पनि कस्तो हुन्थ्यो भन्ने लाग्थ्यो । तर गालि खाइन्छ कि भन्ने डर थियो ।

Comments