काठमाडौं, महानगरीय प्रहरी प्रभाग, सानेपाकी प्रमुख प्रहरी निरीक्षक रुपा लाबुङ्ग सोमबार अपरान्ह कार्यालयमा आफ्नो कार्ययोजना बनाउँदै थिइन। मुखमै आएका चाडपर्वको सुरक्षा व्यवस्थापनदेखि विशिष्ठ तथा संवेदनशील कार्यालय र सानेपा क्षेत्रका दूतावासहरूको सुरक्षा जिम्मेवारी रुपाको काँधमा छ। प्रभाग सानेपाको सुरक्षा रडारभित्र स्विट्जरल्याण्ड र मलेसियाका दूतावास, नेपालका दुई ठूला कर्पोरेट हाउस– चौधरी ग्रुप र एनसेलसहित यो क्षेत्रमा निवास रहेका महत्वपूर्ण व्यक्तिहरू पर्छन्।काठमाडौंबाट ललितपुर प्रवेशका सातवटा नाका समेत प्रभाग सानेपाकै सुरक्षा जिम्मेवारीमा छन्। ‘राजधानीको संवेदनशील क्षेत्र हो यो, हामी करिब १ सय ३२ जनाको टिमले चौबिस घण्टे सुरक्षा ड्युटी गरिरहेका छौं’, प्रहरी निरीक्षक लाबुङगले सोमबार अपरान्ह आफ्नै कार्यालयमा नेपालखबरसँग भनिन्, ‘टिमका सबैको सहयोग र सहकार्यमा जिम्मेवारी पूरा गरिरहेकी छु।’ शनिबारको ‘आकस्मिक’ निर्णयबाट महानगरीय प्रहरी प्रभाग कोटेश्वरको जिम्मेवारी प्रहरी निरीक्षक एलिजा गिरीले पाएकी छन्।
महानगरीय प्रहरी प्रभाग काँडाघारी, कोटेश्वर र सानोठिमीका प्रहरी अधिकारीसहित नौ जनाको टोली शनिबार घुस रकम सहित रंगेहात पक्राउ परेपछि कोटेश्वरमा गिरीले जिम्मेवारी पाएकी हुन्। यो घुस काण्डपछि महानगरीय प्रहरी कार्यालयले तत्काल प्रहरी अधिकारी परिवर्तन गर्ने निर्णय गर्यो। महानगरीय प्रहरी प्रभाग कोटेश्वर र काँडाघारीका इन्चार्ज परिवर्तन हुने भए। प्रहरीले अति व्यस्त र सुरक्षाका हिसवाले बढी संवेदनशील कोटेश्वरका लागि प्रहरी निरीक्षक एलिजा गिरीलाई छान्यो।
प्रहरी अधिकारीहरूका अनुसार केही महिनायता महानगरीय प्रहरीका पाँच अन्य प्रभाग सफलतापूर्वक संचालन गरिरहेका महिला अफिसरबाट प्रेरित भएर यो निर्णय गरिएको हो। महानगरीय प्रहरी प्रभागहरुमध्ये बलम्बुमा प्रहरी निरीक्षक शर्मिला गुरुङ, सानेपामा रुपा लाबुङ्ग, पुल्चोकमा चेतना पोख्रेल र साँखुमा लक्ष्मी पाण्डे खनालले कमाण्ड सम्हालिरहेका छन्। साढे ३३ किलो सुुनकाण्ड, भक्तपुरको नक्कली इन्काउण्टर हुँदै कञ्चनपुरमा निर्मला पन्तको बलात्कार र हत्याकाण्डको छानविनमा प्रहरीमाथि प्रश्न उठिरहेको छ, अहिले व्यापक रुपमा।
तर प्रहरीमा यस्ता धेरै उदाहरण छन्, जसले प्रहरी संगठनमाथि विश्वास र भरोसा कायम नै राखेको छ। प्रहरी संगठनलाई यसरी कुशल नेतृत्व दिनेमा महिला कामाण्डरहरू धेरै देखिन थालेका छन्। प्रहरी उपरीक्षक तहमा रहेर कमाण्ड सम्हाल्ने महिला पनि नभएका होइनन्, तर यो संख्या निकै सानो छ। प्रहरी प्रधान कार्यालयले २३ बैशाख २०७५ मा ७९ जना उपरीक्षकको सरुवा गर्यो। जसमध्ये तीनजना किरण बज्राचार्य, किरण राणा र मिरा चौधरी मात्रै महिला प्रहरी अधिकृत थिए।
किरणलाई २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया र मिरालाई जिल्ला प्रहरी कार्यालय बाराको जिम्मेवारी दिइएको छ। किरण राणा भने महानगरीय प्रहरी परिसर भक्तपुरको जिम्मेवारी सम्हालेर प्रहरीको महिला सेलमा आएकी छन्। केन्द्रीय प्रहरी कुकुर तालीम स्कुल, महाराजगंजको जिम्मेवारी लामो समयदेखि महिला अफिसर डाक्टर देउती गुरुङकै जिम्मामा छ। प्रहरीको अपराध अनुसन्धान र सुरक्षा व्यवस्थामा महत्वपूर्ण सहयोगी बनेका प्रहरी कुकुर देउतीकै तालिम र रेखदेखमा रहँदै आएका छन्।यस्तै रुपन्देहीको इलाका प्रहरी कार्यालय, छपियामा प्रहरी निरीक्षक शैलेश्वरी बोहरा र महानगरीय पर्यटक प्रहरी भृकुटीमण्डप, काठमाडौंमा प्रहरी निरीक्षक रुपा थापा छन्।
डाक्टर देउतीका ‘अनुसन्धान देवहरु’
प्रहरीको अपराध अनुसन्धान, विशेष सुरक्षा प्रबन्ध र लागूऔषध तथा बिस्फोटक पदार्थ पहिचानका लागि प्रहरी कुकुर ‘अनुसन्धानका देव’ मानिन्छन्। प्रहरी कुकुरको सहयोगमा चर्चित हत्याकाण्डका घटनामा समेत प्रहरीले सफलता पाएको छ। यस्तै विशिष्ठ र अति विशिष्ठको सुरक्षाका लागि तालिमप्राप्त कुकुरको प्रयोग हुँदै आएको छ। प्रहरीले लागूऔषध नियन्त्रण र बिस्फोटक पदार्थ पहिचानका लागि समेत प्रहरी कुकुर प्रयोग गर्दै आएको छ। प्रहरी अनुसन्धानमा सहायक तालिमप्राप्त कुकुरलाई योग्य बनाउने जिम्मेवारी प्रहरी उपरीक्षक डाक्टर देउती गुरुङले सम्हालेकी छन्। उनले केन्द्र बाहेक प्रदेशमा समेत उन्नत जातका प्रहरी कुकुर उपलब्ध गराउनेदेखि यससम्बन्धी अन्तर्राष्ट्रिय सहयोग र सहकार्यलाई पनि निरन्तरता दिँदै आएकी छन्।
मिरालार्इ बजनी हत्याकाण्डले दिएको ‘माइलेज’
प्रहरी उपरीक्षक मिरा चौधरी बारामा सरुवा भएर गएसँगै धेरैबाट उनको अनुसन्धान क्षमताको अग्नि परिक्षा ‘बजनी डबल मर्डर केस’ हुने टिप्पणी गरियो। केन्द्रीय अनुसन्धान ब्यूरोबाट बारा गएकी मिराको हकमा सर्वसाधारणको अपेक्षा स्वाभाविक थियो। १६ मंसिर २०७४ को मध्यरातमा जीतपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा कृषक दम्पत्ती दिपकराज सुवेदी र दीपा सुवेदीको निर्मम हत्या भएको थियो। मिराको कमाण्डमा खटिएको प्रहरी टोलीले जेठको पहिलो साता बजनी हत्याकाण्डको गुत्थी सुल्झायो। हत्यामा संलग्न आरोपी पक्राउ गर्न मिराको टोली सफल भयो। बारामा चार महिनायता फरार आरोपी पक्राउ अभियान चलिरहेको छ। अपराधका आरोपी खुलेआम घुम्ने बाराको ‘बिहारी शैली’ मिराको आगमनसँगै बन्द जस्तो छ। भूमिगत समूह र तस्करी तुलनात्मक रुपमा रोकिएको अनुभव गरिदैछ।
किरणको कारणले कारोबारीमा तनाव
प्रहरी उपरीक्षक किरण बज्राचार्यले प्रदेश २ मा ओभरलोड भएका सवारी साधनलाई कारवाही थालेपछि उनीविरुद्ध उद्योगी–व्यापारीको समूह सक्रिय भएको छ। किरणले ओभरलोड भएका सवारीसाधनलाई धमाधम कारवाही थालेपछि ‘लेडी अफिसर’ ले धन्दा चौपट बनाएको बुझाइमा उद्योगी–व्यापारी उनको सरुवाको लबिङमा सक्रिय छन्। ‘३० टनको क्षमता हुने ट्रकले दोब्बर लोड गरेर आएको हुन्छ, भोली पुल भत्केर ठूलो दुर्घटना भए त्यसको जिम्मेवारी कसले लिने, कारवाही रोक्नु भनेको त जानाजान अपराधको समर्थन गर्नु हो,’ किरणले नेपालखबरसँग भनिन्।
उनका अनुसार पछिल्लो एक महिनामा मात्रै १५० वटा त्यस्ता सवारीसाधन कारवाहीको दायरामा आएका छन्। प्रदेश २ ट्राफिकको नेतृत्व लिएकी किरणले यो प्रदेशका आठवटै जिल्लामा अपराधमा प्रयोग भएका सवारीसाधनको तथ्यांक एकिकृतगर्ने अभियान थालेकी छिन्। भेइकल क्राइम रेर्कड सिस्टम (भिसिआरएस) भनिएको यो अभियानले घटना र दुर्घटनामा प्रयोग भएका सवारी साधनको तथ्यांक बनाउने छ। किरणले जानाजान ट्राफिक नियम उल्लंघन गर्ने र जरिवाना तिर्ने परम्परा अन्त्यको पहल समेत थालेकी छन्।
उनले कारवाहीमा परेका सवारीचालक अनुमति पत्रको समेत तथ्यांक लिएर दोहोरो सवारीचालक अनुमति पत्र बनाउने चालक उपर कारवाही थाल्ने बताइन। ‘ट्राफिक प्रहरी भनेको सडकमा बसेर जरिवाना काटने होइन, ट्राफिक व्यवस्थापन र नियम पालना गराउने हो, हेरौं कतिसम्म सफल हुन सकिन्छ,’ किरणले भनिन।
सात प्रहरी निरीक्षकको सक्रियता
इलाका प्रहरी कार्यालय छपियाको जिम्मेवारी सम्हालिरहेकी प्रहरी निरीक्षक शैलेश्वरी बोहराले त्यहाँ सामाजिक रोग निर्मूल बनाउन महत्वपूर्ण योगदान गरिरहेको चर्चा चुलिएको छ। रुपन्देहीको छपियामा बढ्दो महिला तथा घरेलु हिंसा रोक्न उनले चालेको कदम धेरैले मन पराएका छन्। ‘सामाजिक अपराध केही हदसम्म जिल्लामा ल्याउनभन्दा स्थानीय तहमै समाधानगर्ने गरेका छन्, यसमा तल्लो तहको नेतृत्वको कामकारवाही पनि सकारात्मक नै छ,’ रुपन्देहीका प्रहरी उपरीक्षक ह्दिय थापाले सोमबार नेपालखबरसँग भनेका छन्।
Comments
Post a Comment