बाबु ज्ञानेन्द्र गत चैत पहिलो साता झापामा बोलाएर तीनवटै राप्रपाका युवा नेताहरुलाई भेटेको झण्डै ६ महिनापछि छोरा पारस शाहले पनि काठमाडौमा तीनै पार्टीका नेताहरुलाई गोप्य रुपमा भेटेका छन् ।
पारसले बुधबार कमल थापा नेतृत्वको राप्रपा, पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीका नेताहरुलाई काठमाडौको नक्सालस्थित एक होटलमा भेटेको स्रोतले जनायो ।
झण्डै चाढे चारघण्टा उनीहरुबीच भेटवार्ता भएको हो । दिउँसो १२ बजेदेखि भएको भेटघाटमा पारसले राष्ट्रियता कमजोर बन्दै गएको तथा समाजमा महिला तथा बालबालिकामाथि हिंसा बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका थिए ।
भेटमा कमल थापा नेतृत्को राप्रपाका जयन्त चन्द, भुवन पाठक लगायतका युवा नेता सहभागि भएका थिए । त्यसैगरी राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकका नेताहरु राजेन्द्र गुरुङ, सुरेश आचार्य, रविन्द्रप्रताप शाह, विराज भट्ट र सगुनसुन्दर लावती सहभागि थिए । यस्तै एराप्रपा राष्ट्रवादीबाट ऋषिबाबु परियार, शुष्मा आचार्य केशव श्रेष्ठ सहभागी भएका बताइएको छ ।
पारसले तीनवटै राप्रपा एकीकरणमा भइरहेको ढिलाईबारे नेताहरुसँग चासो राखेको स्रोतले बताएको छ । तीनवटै पार्टीका युवा नेताहरुलाई छुट्टाछुटटै समयमा भेटेका शाहले देशको पछिल्लो स्थितिका बारेमा जान्न युवा नेताहरुलाई निम्त्याएको सुरुमै जानकारी गराएका थिए ।
राप्रपा नेताहरुलाई भेटेसँगै उनी अब राजनीतिक भेटघाटमा जुटेको सहभागीहरुको भनाई छ । उनी फेरि पनि देश दौडाहामा जाने तयारीमा रहेको नेताहरुले दाबी गरेका छन् ।
Comments
Post a Comment