कथाः सधैँ यस्तै भइदिइरहे !


जेठको उखर्माउलो घाम । घाम झुपडीबाट परपर सर्दै छ त छाया पिँढीबाट तल झरिसकेको छ । उसले अनुमान लगाई, एक त पक्कै बजिसक्यो, चिर्बिरेका बाउ अघि नै आइसक्नुपर्ने हो ।

नदीको किनारसँगै पूर्वपश्चिम तन्किएको यो सुकुम्बासी टोल भोक, रोग र शोकमा लम्पसार परेको छ । यी बामपुड्के छाप्राभित्र गुम्सिएर बाँच्ने थुप्रै चिर्बिरेका आमाहरू तालु तताएर आफ्ना लोग्नेका रिक्साका बाटो कुरिरहन्छन् । यो छाप्रेबस्ती सधैँ नजिकैको नारायणघाट बजारबाट अति अछुत भएर भोक र खालीपनमा पुस्तौँ बाँचिरहेछ । अधिकांश रोगिया ख्याउटे सिसौका डढेका हाँगाबिँगा जस्ता हातखुट्टा भएका वृद्धहरूको दैनिकी उफ ! यो काल पनि कहिले आउँछ बाट सुरु हुन्छ । पूर्णतः माटाबाट बनेका जस्ता लाग्ने धुलौटे केटाकेटीहरू टोलका पिँढी र आँगनमा छरिएका छन् ।चिर्बिरे भैँसीको गोठछेउमा खैनीका डब्बाहरूमा भतेर पकाइरहेको छ । तरकारी छ, दाल छ, अनि ठूलो डब्बामा भात । यो भात यो तिहुन, यो अचार अनि यो दूध । चिर्बिरे सबैथोक ठोट्नेको पातमा मिसाइरहेछ, चिउँडोमा माटोको धुलो छुँदै भात खाइरहेछ । साहिँलीले भोको पेटको अनुभव गरी, भित्र कतै दबिएको थियो । साहिँली हेर्छे,र् नि बरै माटोको डल्लोले पेट भरिँदो हो त सबै गरिबका पेट पुस्टिन्थे होलान् ।’

आमा भात खाऊ न ! छोरो पातमा भात ल्याउँछ, आमा बाटोतर्फ एकोहोरिएकी छे, आउनुपर्ने हो ।र् आमा खाऊ न’ चिर्बिरेको एकोहोरो कर । चुप लाग्, आमा भोकको रिस छोरामा पोख्छे । छोरो कोकोहोलो गर्छ । ‘भोक लाग्यो’… ‘भोक लाग्यो’… ‘भोक लागे मर् ।’

‘बा आए, बा आए ।’ चिर्बिरे रुन्चे स्वरमा उफ्रिन्छ । साहिँलीले देखी । हो, उसको लोग्ने आयो, दुई त पक्कै बज्यो होला । उत्तरबाट दक्षिणतर्फ आएको भिरालो ग्राभेल बाटो । रिक्साको पाइडल नमारी उसको लोग्ने झुपडीतर्फ आइरहेछ । दुवै खुट्टा अगाडिको डन्डीमा छन् । काटिएको पाइन्ट, माथिको जीउ नाङ्गै, चर्को घामले डढेर उसको जीउ हाँडीको पिँध भएको छ । रिक्सा खडाइको झुप्रो अगाडि रोकिन्छ । साहिँली भित्रभित्रै गल्दै छ । चिर्बिरे बाउतर्फ दौडिन्छ । साहिँलीलाई थाहा छ उसको लोग्ने भोकै छ । यो पनि थाहा छ भित्र एक बाल्टी पानी सिवाय कही छैन । लोग्नेलाई ऊ अब मात्र खाली कसौडी देखाउन सक्छे । कसौडी पनि उसको पेटजस्तै रित्तो छ । बा बा छोरो बाउको फाटेको पाइन्टमा झुन्डिन्छ । ऊ वास्ता गर्दैन । भएभरको बलले चापाकल थिच्छ । आँखा चिम्लेर पानी पेटमा धकेल्छ । सुख्खा खाली पेट फुलेर आउँछ । टाउको र ढाड खलखली पखालेपछि खडाइको बारमा आड लागेर भुइँमा थेच्चारिन्छ ।

कालो अनुहार घाम र भोकले झन् कालो भएको छ । साहिँली टोलाउँछे । चिर्बिरेको बाउको ढाड, घरभित्रको हाँडीको पिँध र आफ्नो कर्म एकै लाग्छ साहिँलीलाई । कति गर्दा पनि सेतो भागको छनक देखिँदैन । ऊ सोच्छे- हाँडी त आगोले कालो भयो त लोग्नेको ढाड घामले, तर उसको कर्म ?

Comments