महेन्द्रनगर: निर्मला प्रकरणमा संलग्न भनिएका दिलिप सिंह बिष्टको डिएनए रिपोर्ट मेल नखाएपछि २६ गते रिहा गरियो । रोशनी र अनिता बमलाई समेत कुनै दसी प्रमाण फेला नपरेको भन्दै रिहा गरिएको छ । दाजु खडक सिंह बिष्टको जमानतमा दिलिप, बुबा दिपेन्द्र बहादुर बमको जमानतमा आँचल (रोशनी) रिहा भए । अनितालाई ३० हजार धरौटी राखेर रिहा गरिएको छ । दिलिप बिष्टसँगै बम दिदी–बहिनी पनि रिहा भएपछि निर्मला प्रकरणको अनुसन्धान कता सोझिएला भन्ने चासो र चिन्ता बढेको छ । रिहा भएलगत्तै बम दिदीबहिनी पुख्र्यौली घर दार्चुला गएका छन् ।
निर्मला–प्रकरणमा उठेको आन्दोलन सुरुमै विभाजित थियो । कांगे्रस निकट मानिएका आन्दोलनकारीले मेयरविरुद्ध आन्दोलन केन्द्रित गरे । हत्यारा पत्ता लगाउन प्रहरी प्रशासनविरुद्ध चलाउनु पर्ने आन्दोलनलाई मेयरविरुद्ध मोड्ने कसरत गरेपछि निर्मला प्रकरणमा कांग्रेसको द्वैतचरित्र देखिएको छ ।
निर्मला प्रकरणका दोषी छिटो पत्ता लगाउन आन्दोलनकारी, राज्य र गृहमन्त्रीको दवाव प्रहरीमाथि तीब्र थियो । दवावमा रहेको प्रहरी यो प्रकरणमा केही न केही गरेको देखाउनु पर्ने बाध्यतामा थियो । दवाव थेग्न र आन्दोलन मत्थर पार्ने उपायको खोजीमा रहेको प्रहरीले निर्मला प्रकरणमा दिलिप बिष्टलाई आरोपित गर्दै सार्वजनिक ग¥यो । तर, दिलिपमाथिको आरोप पुष्टि हुन सकेन ।
हत्यारा छिटो पत्ता लागोस् भन्नका लागि गरिने आन्दोलन र दवाव स्वाभाविक मानिए पनि दवावमा काम गर्नुपर्दा परिणाममुखी निष्कर्षमा प्रहरी पुग्न नसकेको हो कि ? स्वाभाविक प्रश्न उठेका छन्
दोषी को हो ?
खासगरी कांग्रेस र सरकारइतरका कतिपयले दोष सरकारमाथि लगाइरहेका छन् । तर निर्मला–प्रकरणका वास्तविक दोषी पत्ता लाग्न नसक्नुका पछाडि सत्यतथ्य बोल्न नसक्ने स्थानीयलाई मान्न सकिने आधार छन् । घटनाका बारेमा देखेबुझेको बोल्न जो–कोही हिच्किचाउँछन् । एउटी निर्दोष बालिका बलात्कृत भएको र उनको हत्या भएको देख्ने वा बुझ्नेहरु चुपचाप बस्न मिल्छ ? मानव अधिकारका लागि भन्दै एकातिर बम दिदी–बहिनीमाथि अनुसन्धान बढाउन दिइँदैन भने निर्मलालाई अन्याय भयो भनेर कांग्रेसले घटनालाई सरकारविरुद्ध प्रहार गर्ने अस्त्र बनाउन खोजेको छ । निर्मलाका बलात्कारी र हत्यारा पत्ता लगाउनभन्दा आन्दोलन चर्काउने उद्देश्यमा कांग्रेस लागेको देखिनु दुर्भाग्यपूर्ण छ ।
छानविनमा सहयोग पुगोस् भनेरै एपपी डिल्लीराज बिष्टलाई सरकारले निलम्बन ग¥यो । छानविन समितिको प्रारम्भिक प्रतिवेदनका आधारमा अनुसन्धानमा संलग्न डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर जगदिश भट्ट, एकेन्द्र खड्का र सई रामसिंह धामीलाई समेत निलम्बन गरेर अनुसन्धानलाई सहज बनाउने कोसिस ग¥यो । डीआईजी धिरु बस्नेतको संयोजकत्वमा शक्तिशाली छानविन समिति समेत गठन गरेर निर्मला प्रकरणमा तत्परता देखाएको छ । गृह मन्त्रालयले सीआईबीका एसएसपीको कमाण्डमा अर्को अनुसन्धान टोलीसमेत कञ्चनपुर खटाइसकेको छ ।
बम दिदी–बहिनी र उनीहरुका छरछिमेकी नै निर्मला काण्डका सही साक्षी हुन् । घटनामा जोसुकैको संलग्नता भए पनि बम दिदी बहिनीलाई सुरक्षाको प्रत्याभूतिसहित अनुसन्धानको दायरामा ल्याउन इमान्दारीपूर्वक सबैले सहयोग गर्ने हो भने निर्मला प्रकरणका दोषी टाढा नरहेको अनुमान सजिलै लगाउन सकिन्छ । किन मानव अधिकारको बहानामा बम दिदीबहिनीमाथि अनुसन्धान हुन दिइँदैन ? एकातिर निर्मला प्रकरणका दोषी पत्ता लगाएन भन्ने अर्कोतिर दोषी पत्ता लगाउन जसमाथि अनुसन्धान हुनपर्ने हो त्यहाँ हुन नदिने ।
काठमाडौंबाटै हेर्दा पनि देखिन्छ कि बम दिदी बहिनी र उनीहरुका केही छरछिमेकी यो घटनाका साक्षी हुन् । उनीहरु किन बोल्न चाहँदैन् ? निर्मला प्रकरणमा कांग्रेस दुबै हातमा लड्डु लिएर बस्ने प्रयत्न गरिरहेको छ । निर्मलाको हत्यारा सरकारले पत्ता लगाएन भनेर एकातिर आन्दोलन गर्ने अर्कोतिर बम दिदी–बहिनीको इज्जत, प्रतिष्ठा र मानव अधिकारको कुरा गरेर घटनाको वास्तविकता सतहमा आउन नदिने दोहोरो चरित्र देखाइरहेको छ ।
घटनामा बम दिदी बहिनीको संलग्नता नहुन सक्छ । तर घटनाबारे उनीहरु जत्तिको नजिकाका साक्षी अरु कोही हुन सक्दैन । घटनामा निर्मलाका साथीभाइको घेरा पहिचान गर्दै अनुसन्धानको दायरा बढाउनुपर्ने धेरैको मत रहेको छ । एउटा दुर्भाग्य यो बनेको छ कि हत्या र बलात्कारजस्तो संवेदनशील अपराधलाई पत्ता लगाउनभन्दा यसलाई राजनीतीकरण गर्न नेपाली कांग्रेस कञ्चनपुर लागेको छ । आजै (असोज २ गते) कांग्रेस कञ्चनपुर, झण्डासहित आन्दोलनमा उत्रिएको छ ।
जस्तोसुकै भए पनि आफ्नो सन्तानको माया जोसुकै आमाबाबुलाई लाग्छ । निर्मलाका आमासँग छुट्टिएर अर्कैसँग विवाह गरेर बसेका निर्मलाका बुबा र आमालाई यतिबेला एकै ठाउँमा उभ्याइदिएको छ । उनीहरु दुवैजना सँगै यतिबेला न्यायका लागि काठमाडौंमा छन् ।
भिमदत्त नगरपालिकाको वडा नम्बर २ भासीमा निर्मलाका बाबुसगैँ बस्दै आएकी निर्मलाकी सौतेनी आमा लक्ष्मी पन्तले हत्यारा पत्ता लाग्न नसकेको प्रति असन्तुष्टि जनाउँदै भनेकी थिइन्, ‘यदि म सगैँ बसेको भए मलाई पनि हत्याको आरोप लाग्न सक्ने रहेछ ।’
असली दोषी पत्ता लगाउनु र उनीहरुलाई उचित कार्वाहीको दायरामा ल्याउनु नै निर्मला र उनका आमाबुबामाथिको सही न्याय हो । तर, कतिपय एनजीओ/आईएनजीओकर्मी छोरीको हत्याबाट आहत बनेका निर्मलाका बुबाआमाको आँशुमा आफ्नो भविष्य सिंचित गर्ने प्रयत्न गरिरहेका छन् । निर्मलालाई साँँच्चै न्याय दिनुभन्दा निर्मलाको नाममा आफ्नो धन्दाको चिन्ता उनीहरुलाई छ । यो घटनालाई मसला बनाउने धुनमा कांग्रेस देखिएको छ । निर्मलाका बुबाआमा यसप्रति सचेत बनुन् । सरकार, प्रहरी प्रशासन यसप्रति गम्भीर बनोस् ।
Comments
Post a Comment