बोक्सी आरोपमा कुटपीट गर्ने श्रीमान,ससुरा,जेठाजु र देवर पक्राउ

कालिकोट : कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका- ५ मटेलाकी १९ वर्षीया युवतीलाई बोक्सीको आरोपमा कुटपीट गर्ने श्रीमानसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ। नगरपालिका-५ मटेलाका १९ वर्षीया सरिता दमाई बोक्सीको आरोपमा कुटपीट गर्ने उनका श्रीमान अली दमाई, ससूरा बिजे दमाई, देवर ऐन दमाई र जेठाजु पिरम दमाईलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी प्रमुख डीएसपी बिनोद शर्माले सरिता दमाईका पोइली पक्षले घटना मिलाउन खोजे पनि प्रहरीले महिला हिंसाका घटनामा कुनै कसुर बाँकी नराख्ने भन्दै मुद्धा दर्ता गरिएको बताए। उनले भने, ‘मेरो कार्यकालमा कालिकोटलाई महिला हिंसा मुक्त, आत्माहत्यारहित जिल्ला बनाउने लक्ष्य लिएको छु। पीडकलाई कानुनी कारबाही हुन्छ।’


जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर निरोज चौलागाईले पीडित सरिताको जिल्ला अस्पताल कालिकोटमा स्वास्थ्य जाँच गर्दा जीउभरी निलडाम भेटिएको बताए। उनले परिवारले कुटपीट गर्दा च्यातिएका कपडा पनि फेला परेको बताए।


जिल्लाको खाँडाचक्र नगरपालिका- १ माइती भएकी सरिताले आफूलाई परिवारले नै बोक्सीको आरोपमा दैनिक कुटपिट गरेको भनी जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी बिनोद शर्माले जानकारी दिए। डीएसपी शर्माका अनुसार पक्राउ गरिएका चारैजना विरुद्ध भेदभाव तथा अन्य अपमानजन्य कसुर (बोक्सीको आरोप) अन्तर्गत मुद्धा दर्ता गरिएको छ।

न्याय माग्दै जिल्ला प्रहरी कार्यालय आएकी पीडत सरिता दमाईले विवाह भएको दुई वर्षसम्म पनि सन्तान नजन्मिदा आफूलाई परिवारले बोक्सीको आरोप लगाएर कुटपीट गरेको बताइन्। उनले भनिन, ‘देवरले धामी कामेर बोक्सी भन्छन्। श्रीमान, ससूरा, जेठाजु सबैले कुटपीट गर्छन्। घरमा सास्ती खप्न नसकेर माइत आएँ।अहिले न्याय माग्दै जिल्ला प्रहरी कार्यालय आएकी हुँ। अब म त्यो घर फर्किन्न।’
annapurnapost

Comments