रियललाई एमबाप्पे आवश्यक, पेरेजको नजरमा नेयमार



म्याड्रिड (एजेन्सी) – पूर्व रियल मड्रिड विंगर स्टेभ म्याकमानमानले रियलमा रोनाल्डोको स्थानमा केलियन एमबाप्पेले लिन सक्ने बताएका छन् । तर, रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले नेयमारलाई आफ्नो क्लबमा अनुबन्ध गर्न इच्छा व्यक्त गरेका छन् ।


रियलका लागि खेलिसकेका म्याकमानमानले पेरेजलाई रोनाल्डोको स्थानका लागि एमबाप्पेलाई अनुबन्ध गर्न आग्रह गरेका छन् । पाँच पटकका ब्यालोन डीओर विजेता रोनाल्डो यसै सिजन रियल छाडेर युभेन्ट्स पुगेका हुन् । उनी रियलबाट १०० मिलियन युरोमा युभेन्ट्समा अनुबन्धित भए । उनी सिरी–ए मा सबै भन्दा बढी कमाइ गर्ने खेलाडीको शीर्षस्थानमा समेत छन् । रियलले रोनाल्डो बिक्री गर्ने बित्तीकै नेयमार, एमबाप्पे वा इडेन हाजार्डलाई अनुबन्ध गर्न सक्ने अनुमान गरिएको थियो ।

ट्रान्सफर विन्डोमा सम्बन्धित क्लबहरुले खेलाडी बेच्न आनकानी गर्दा रियल नयाँ स्टार भित्र्याउन असफल रह्यो । रियलले रोनाल्डोको ७ नम्बर जर्सी यसै सिजन रियलमा फर्केका मारियानो डियाजलाई दिएको छ । रियलले नेयमार र एमबाप्पेलाई क्लबमा अनुबन्ध गर्न चाहेपनि पीएसजीले प्रस्ताव अस्विकार गरेको थियो । म्याकमानमानका अनुसार फ्रान्स विश्वकप विजेता एमबाप्पे धेरै राम्रो छन् । तर पनि पेरेजको नजर ब्राजिलियन फरवार्ड नेयमार प्रति अडिग छ ।

‘यदि नेयमार क्लबमा भित्रिए स्थिति मुस्किल हुनेछ । किनकी उनले पहिले बार्साका लागि खेलेका थिए । मलाई थाहा छ की पेरेज वास्तवमा उनीलाई चाहन्छन् ।’ उनले थपे, ‘तर क्लबलाई यदि आउने १० वर्ष सम्मका लागि एक विश्वनसनीय स्टारको आवश्यकता छ भने मलाई लाग्छ एमबाप्पे जस्तो खेलाडी अनुबन्ध गर्नु पर्छ । किनकी उनी १९ बर्षीय एक राइजिङ स्टार युवा खेलाडी हुन् ।’

Comments