निर्मला हत्याकाण्ड : अनुसन्धान टोली फेरियो, ज्ञवाली नेतृत्वको टोली कञ्चनपुर पुग्यो



कञ्चनपुरकी निर्मला पन्तको हत्या अनुसन्धानमा सघाउन केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले एसएसपी ठाकुर ज्ञवालीको नेतृत्वमा ४ सदस्यीय टोली कञ्चनपुर पठाएको छ ।

टोलीमा डिएसपी कमल थापा र अन्य २ जना जुनियर अफिसर रहेका छन् । प्रधानमन्त्रीको निर्देशनमा गृह मन्त्रालयले पठाएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ठाकुरप्रसाद ज्ञवाली नेतृत्वको टोली आइतबार महेन्द्रनगर पुगेर अनुसन्धान थालेको हो ।

यसअघि सिआइबीले डिएसपी अंगुर जिसीको नेतृत्वमा एक टोली कञ्चनपुर पठाएको थियो । तर जिसी नेतृत्वको टोलीले गरेको अनुुसन्धानमा नागरिक विश्वस्त हुन नसक्दा आन्दोलन चर्किएको थियो । कञ्चनपुर प्रहरी र जिसीको टोलीले बलात्कारपछि हत्यामा संलग्न रहेको भन्दै भीमदत्त नगरपालिका–१९ का ४१ वर्षीय दिलिपसिंह विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो ।

दिलिपलाई मुख्य अभियुक्त बनाइएपछि प्रहरी अनुसन्धान विश्वस्त हुन नसकेको भन्दै कञ्चनपुरमा प्रदर्शन चर्किएको थियो । डिएसपीको अनुसन्धान विवादमा तानिएपछि सिआइबीले एसएसपीको नेतृत्वमा टोली कञ्चनपुर पठाएको हो ।

गत साउन १० गते साथीको घरमा जान भनेर निस्किएकी निर्मला ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धान र स्वास्थ्य परीक्षणबाट पुष्टि भइसकेको छ ।

प्रहरीले शंकाको घेरामा रहेका अनिता र रोशनी बम दिदीबहिनीलाई थुनामा राखेर आवश्यक अनुसन्धान गरिरहेको छ । भदौ ८ गते पक्राउ गरेर सुरुवातमा ७ दिन म्याद थपेर अनुसन्धान अघि बढाइएको थियो । भदौ १४ गते प्रहरीले थुनामा राखेरै अनुसन्धान गर्न ७ दिन म्याद थपेको छ ।

दुवै दिदीबहिनीको बयान सकिएको छ । रोशनीको भदौ बिहीबार र अनिताको आईतबार जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिइएको हो । अनुसन्धानकै लागि प्रहरी थुनामा रहेका दिलीपसिंह विष्टको काठमाडौंमा स्वास्थ्य जाँच भइरहेको छ । प्रहरीले उनको डीएनए परीक्षण, मानसिक स्वास्थ्यलगायत परीक्षण गर्न काठमाडौ लगेको हो । ती सबैको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Comments