मनिला, फिलिपिन्स । फिलिपिन्समा म्याङ्कुट नामक आँधीमा परी मृत्यु हुनेको सङ्ख्या आइतबारसम्म ४९ पुगेको प्रहरीले जनाएको छ। आँधीपछि गएको पहिरोमा परी हराएका १९ जनाको मृत शरीरलाई शनिबार र आइतबार उद्धार गरिएको प्रहरीले बताएको छ।
प्रहरी प्रवक्ता बेनिग्नोे दुरानाले आइतबार एक विज्ञप्ति जारी गरी मृतक सङ्ख्या ४९ पुगेको बताएका छन्। यस पहिले आइतबार नै प्रहरीले दिएको जानकारीमा फिलिपिन्समा म्याङ्कुट नामक आँधीका कारण ज्यान गुमाएका नागरिकको सङ्ख्या ३० पुगेको बताइएको थियो।
फिलिपिन्सको उत्तरी क्षेत्रमा पर्ने लुजोन टापूमा आँधीबाट सबैभन्दा बढी जनधनको क्षति भएको छ। राष्ट्रपतिका राजनीतिक सल्लाहकार फ्रान्सीस टोलेन्टीनोले स्थानीय एक रेडियोलाई दिएको अन्तर्वार्तामा कोर्डिलेरा प्रशासनिक क्षेत्रमा २०, नुएभा भिजाय प्रान्तमा चार जना र इलोकोज क्षेत्रमा एक जनाको मृत्यु भएको जानकारी दिए।
अरु केहीको पनि मृत्यु भएको अपुष्ट खबर प्राप्त भएपनि यसबारे बिस्तृत विवरण प्राप्त भैनसकेको उनले बताए। घर भत्किएर बागुओ सहरका एउटै परिवारका छ जनाको मृत्यु भएको बताइएको छ।
आँधीका कारण जनजीवन नराम्रोसँग प्रभावित भएको छ। यस आँधीबाट लिपिन्समा मात्र ४० लाखभन्दा बढीलाई प्रभावित पार्ने देखिएको छ। धीले रुखहरु ढालेको, घरका छाना उडाएको, झ्यालहरु फुटाएको बताइएको छ । लुजोनका धेरै ठाउँमा पहिरो र बाढी आएको छ।
आँधीपछि त्यो क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको छ। हजारौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। सामुद्रिक र हवाइ यात्रामा रोक लगाइएको छ भने विद्यालयहरू बन्द गरिएका छन्। आँधीको प्रभाव फिलिपिन्सबाट क्रमशः हङकङ र पूर्वी चीनमा देखिन थालेको छ। रासस
Comments
Post a Comment