काठमाडौंको मुख्यमुख्य स्थानमा फ्रि वाईफाई



काठमाडौंको हनुमान ढोका, पशुपतिनाथ, स्वयम्भु, बौद्धलगायतका ६ वटा धार्मिक तथा पर्यटकीय स्थलमा फ्रि वाईफाई सेवा सुरु गरिएको छ ।

काठमाडौं महानगरपालिकाले आईतबारदेखि हनुमानढोका, पशुपतिनाथ, स्वयम्भू, बौद्ध, बालाजु बाईसधारा उद्यान र शंखपार्कमा फ्रि वाईफाई सेवा सूरु गरेको हो । वल्र्ड लिंकको साझेदारीमा शुभारम्भ गरिएको सो सेवाको एक कार्यक्रमबीच उद्घाटन गर्दै काठमाडौं महानगरपालिकका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिकाको घोषित नीति अनुसार काठमाडौंको मुख्य ६ स्थानहरुमा फ्रि वाईफाई सेवा संचालनमा ल्याइएको स्पष्ट पार्नु भयो ।

उहाँले काठमाडौंलाई स्मार्ट सिटीको रुपमा विकास गर्न प्रविधिसम्बन्धि अन्य कामलाई तीव्रता दिने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । मेयर शाक्यले काठमाडौंको धर्मपथमा ‘स्मार्ट पाटी भवन’ निर्माण गर्ने घोषणा पनि गर्नु भयो । उहाँले काठमाडौंलाई स्मार्ट सिटीको रुपमा विकास गर्न निजी क्षेत्रसँगको सहकार्यलाई जोड दिने नीति लिइएको पनि स्मरण गराउनु भयो ।

सो सेवालाई शुभारम्भ गर्न काठमाडांै महानगरपालिका र वल्र्ड लिंकबीच गत चैत्र १८ गते नै सम्झदारी भएको थियो । यसबीचमा परिक्षण गरेपछि मात्रै सो सेवाको औंपचारिक उद्घाटन गरिएको पनि मेयर शाक्यले जानकारी दिनु भयो । सो सेवाका लागि महानगरपालिकालाई कुनै पनि आर्थिक दायित्व पर्नेछैन । वल्र्ड लिंकको आर्थिक तथा प्राविधिक व्यवस्थापनका ती स्थानहरुमा फ्रि वाईफाई सेवाको व्यवस्था गरिएको हो । यी क्षेत्रमा मोबाईलमा अटोमेटिक वाईफाई कनेक्ट हुने व्यवस्था गरिएको छ ।

सेवामा सबैको पहुँच पुगोस् भनेर एक पटक वाईफाई चलाउनेले ३० मिनेट सेवा लिएपछि सिस्टमले उसलाई त्यस दिन कनेक्सन हुनबाट रोक्नेछ । तर अर्को एक्सेस प्वाईन्टबाट सो सेवा लिन पाउने व्यवस्था गरिएको वल्र्ड लिंकका आयोजना प्रमुख लक्ष्मण यादवले जानकारी दिनु भयो ।

Comments