तालिमप्राप्त व्यक्ति’बाट निर्मलाको हत्या, डि एन ए परिक्ष्णबाट मात्र अपराधी पत्ता लगाउन कठिन



कञ्चनपुर ।

निर्मलाको हत्या तालिमप्राप्त व्यक्तिबाट भएको खुलेको छ। पोस्टमार्टम रिपोर्टले देखाएअनुसार निर्मलाको घाँटी कर्ड न्याकेर हत्या गरिएको देखिएको हो। घाँटीको कर्ड न्याक्ने कुरा तालिम प्राप्त व्यक्तिबाहेक अन्यले गर्न नसक्ने एक प्रहरी अधिकारी बताउँछन्। ‘युद्ध मैदान होस् या दुस्मनको घेरामा पर्दा, आफू बच्नका लागि दुस्मनको घाँटी थिचेर उसको कर्ड न्याकी मार्ने युद्धकला तालिमप्राप्त व्यक्तिलाई मात्रै सिकाइएको हुन्छ,’ ती अधिकारीले भने, ‘यो घटनाको प्रकृति हेर्दा तालिमप्राप्त व्यक्तिबाटै हत्या भएको जस्तो देखिन्छ।’ घाँटीको कर्ड न्याक्नु सहज नहुने उनको तर्क छ। ‘तालिममा सिकेको व्यक्तिले नै हो घाँटीको कर्ड न्याक्न सक्ने,’ उनले भने।

निर्मला हत्या घटनाको छानबिन गरिसकेको उच्चस्तरीय छानबिन समिति पनि निर्मलाको हत्या कसले गरेको भनेर निष्कर्षमा पुग्न सकेको छैन।

अपराध अनुसन्धानका बारेमा जानेको व्यक्तिले चलाखीपूर्ण ढंगले निर्मलाको हत्या गरेर प्रमाण नष्ट गरेको निक्र्योल छानबिन समितिको छ।‘हत्या गर्ने मान्छेले प्रमाण नष्ट पार्न खोजेको छ, बाँकी रहेका प्रमाण प्रहरीले नष्ट गरेको छ’, उच्चस्तरीय छानबिन समितिका संयोजक हरिप्रसाद मैनालीले भने, ‘प्रहरीले दोषी बचाउन नियतवश प्रमाण नष्ट गरेको हो कि भुलवश भन्नेमा हामी निष्कर्षमा पुग्न सकेका छैनौं।’ अब बनेको अनुसन्धान समितिले त्यो कुरा पत्ता लगाउने उनको भनाइ छ।

घटनास्थलमा फिंगर प्रिन्ट, फुट प्रिन्ट, रौं, रगत र विर्यलगायतको कुनै पनि प्रमाण संकलन भएको छैन। प्रहरीले नियतवश सबै प्रमाण नष्ट गरेको भएमा भेजिनल स्वाबको नमुना पनि विश्वसनीय नहुनेमा छानबिन समितिभित्रै सदस्यले आवाज उठाएका छन्।

‘त्यति बेलाकाधानमा खटिएको प्रहरी टोलीले सबै प्रमाण नष्ट गरेकाले डिएनएका लागि संकलन गरिएको भनिएको भेजिनल स्वाबको नमुनामा विश्वास गर्ने ठाउँ छैन’, एक सदस्यले भने, ‘त्यो नमुना कसरी र कहाँबाट ल्याइयो भन्ने थाहा छैन।’ छ इन्च पानी जमेको ठाउँमा घोप्टो पारेर शव फालिएको थियो ।

‘त्यो शवको भेजिनामा पानी पसेर स्पर्म पखालिएन भनेर कसरी विश्वास गर्ने’,उनले भने। धेरै कुरा जेलिएकाले निर्मलाको हत्या शक्तिशाली व्यक्तिले गरेर योजनाबद्ध ढंगले सबै प्रमाण नष्ट गरेको उनले बताए। याे खबर अाजकाे नागरिक दैनिक मा छ ।

Comments