भुटानमा नयाँ दलको उदय

भुटानमा नयाँ दलको उदय,

भुटानका निवर्तमान प्रधानमन्त्री छिरिङ तोग्बेको दल संसदीय चुनावको पहिलो चरणबाटै बाहिरएको छ।

पाँच वर्षअघि चुनाव जितेर सत्तामा आएको पिपुल्स डेमोक्र्याटिक पार्टी शनिबार भएको तेस्रो संसदीय चुनावको पहिलो चरणबाट बाहिरिएको हो।

भुटानमा संसदीय चुनाव दुई चरणमा हुन्छ। पहिलो चरणमा सबैभन्दा धेरै मत ल्याउने दुई राजनीतिक दलमात्र दोस्रो चरणमा प्रतिष्पर्धा गर्छन्।

संसदका लागि तेस्रो पटक मतदान गरेका भुटानीले तीनै पटक नयाँ दल रोजेका छन्।

भुटानमा सन् २००८ देखि संसदीय चुनाव हुन थालेको हो। पहिलो चुनावमा राजदरबारसँग निकट ड्रुक फुयन्सम शोग्वाले ४७ मध्ये ४५ सिट जितेको थियो। पाँच वर्षपछि सो दल १५ सिटमा खुम्चिएको थियो। त्यतिबेला तोग्बेको दल पिपुल्स डेमोक्र्याटिक पार्टीले ३२ सिट ल्याएर सरकार बनाएको थियो।

यसपालिको चुनावमा पहिलो चरणमै तेस्रो भएपछि तोग्बेको दलका लागि दोस्रो चरणमा जाने बाटो बन्द भएको हो।

४ लाख ३८ हजार ६ सय ६३ मतदातामध्ये शनिबारको चुनावमा २ लाख ९० हजार ७ सय ४४ले मत हालेका थिए।

चुनावी परिणामअनुसार सन् २०१३ मा बनेको ड्रुक न्यामरूप शोग्वा दल ९२ हजार ७ सय २२ मत पाएर पहिलो बनेको छ। पाँच वर्षअघि यो दल ३५ हजार ९ सय ६२ म मत पाएर तेस्रो बनेको थियो।

ड्रुक फुयन्सम शोग्वाले ९० हजार २० मत पाएको छ। तोग्वेको दलले ८९ हजार ८ सय ८३ मत ल्याएको छ। ड्रुक फुयन्सम शोग्वाले यसअघि सन् २००८ देखि २०१३ सम्म भुटानमा सरकार चलाएको थियो।

आफ्नो पार्टी पहिलो चरणबाटै बाहिरिएपछि तोग्वेले भुटानी जनताको मतलाई सम्मान गर्दै विजेता दललाई बधाई दिएका छन्।

दोस्रो चरणको चुनाव १८ अक्टोबरमा हुनेछ।

Comments