२ असोज, काठमाडौं । बंगलादेश र अफगानिस्तान समान एक-एक खेल खेल्नुअघि नै एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
युएईको अबुधाबीस्थित शिख जायद रंगशालामा सोमबार राति सम्पन्न खेलमा अफगानिस्तानसँग अपत्यारिलो तरिकाले श्रीलंका पराजित भएसँगै एसिया कपबाट बाहिरिएको हो ।२५० रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले ४१.२ ओभरमा सबै विकेटको क्षतिमा १५८ रन बनाएसँगै अफगानिस्तानले ९१ रनले विजयी भएको हो । विना रन पहिलो विकेट गुमाएको श्रीलंकाले कुनै जादु देखाउन सकेन ।
श्रीलंकाका लागि उपुल थरांगाले ३६, थिसरा परेराले २८, धनन्जय डे शिल्भाले २३ र कप्तान एन्जेलो मथेवसले २२ रन बनाउन बाहेक अन्य खेलाडी पनि सस्तैमा समेटिए ।
श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा राशिद खान, मुजिब उर रहमान, गुल्बादिन नाइब र मोहम्मद नाबीले समान २-२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४९ रन बनाएको थियो ।
अफगानिस्तानको लागि रहमत शाहले उत्कृष्ट इनिङ्स खेले । उनले ७२ रन बनाएका थिए । त्यस्तै, इन्सानुल्लाहले ४५, हस्मातुल्लाह शाहिदीले ३७ र मोहम्मद शाहजादले ३४ रनको योगदान दिए ।
बलिङतर्फ श्रीलंकाका थिसरा परेराले ५ विकेट लिए । उत्कृष्ट बलिङ गरेका परेराले ९ ओभर बलिङ गर्दै ५५ रन खर्चेर ५ विकेट लिएका थिए ।
पराजित श्रीलंका समूह चरणको दुबै खेलमा हार ब्यहोर्दै एसिया कपबाट बाहिरिएको हो । यसअघि आफ्नो पहिलो खेलमा बंगलादेशसँग १३७ रनले पराजित भएको थियो ।
समूह बी को अन्तिममा बंगलादेश र अफगानिस्तानबीचको खेल २० तारिखमा हुदैछ । खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।
Comments
Post a Comment