गाउँभरी फैलियो झाडापखाला : बालिकाको मृत्यु, सय बढी बिरामी

बर्दिवास : झाडापखालाले महोत्तरीको जलेश्वर नगरपालिका-१२ नैन्हीकी चार वर्षीया बालिकाको ज्यान गएको छ भने एक सय २५ जना बिरामी परेका छन्। भारत घर भई मामा घरमा बस्दै आएकी खुश्वु खातुनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक सन्तोष ठाकुरले जानकारी दिए।
झाडापखला पीडित पाँचजनालाई गाउँमै स्वास्थ्य शिविरमा राखेर उपचार गरिएको छ। चार जनाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ। रेफर गरिएकामा एक गर्भवति र तीन बालबालिका छन्।
झाडापखालाबाट बिरामी पर्ने सबै मुस्लिम समुदायका छन्। नैन्हीको मुस्लिम बस्तीमा चारदिन अघि नै झाडापखालाको प्रकोप देखा परेको थियो।
गाउँलेले उद्धृत गर्दै स्वास्थ्यकर्मी सन्तोष ठाकुरले जनाएअनुसार नैन्हीका धान खेतको विषाक्त माछा खाएकोहरूमा झाडापखाला देखिएको हो। तर, माछा नखानेमा पनि झाडापखाला पीडित भएको स्थानीयले जनाएका छन्।
‘झाडापखालाबाट ज्यान गुमाएकी बालिकाले माछा खाएकी थिइनन््’, स्वास्थ्यकर्मी ठाकुरेले भने, ‘माछा नखाने वैष्णवी पनि झाडापखालाबाट पीडित भएका छन्।’ झाडा पखाला के कारणले फैलियो भन्ने कारण पत्ता लागेको छैन। नैन्ही खुल्ला दिसामुक्त गाउँ हो। तर, सरसफाईको अभावमा छ।
भदौ २९ गते फैलिएको झाडापखालाको खबर जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीमा असोज २ गते मात्र आएको थियो। खबर पाएलगत्तै जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका स्वास्थ्य निरीक्षक ठाकुर नेतृत्वको टोली आवश्यक औषधि र स्वास्थ्यकर्मीसहित नैन्ही गाउँ पुगेका थिए।
नैन्ही गाउँको मदरसामा तीन दिनदेखि स्वास्थ्य शिविर चलिरहेको छ। गाउँभर झाडापखाला फैलिएपछि मदरसा बन्द गरिएको छ।
झाडापखालाबाट गाउँ नै पीडित भएपछि स्थानीय बिरामी परेपछि प्रदेश २ का समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र जलेश्वर नगरपालिका मेयर रामशंकर मि श्र नैन्ही गाउँ पुगेका थिए।
जलेश्वर नगरपालिका प्रमुख मि श्रले झाडापखालाबाट पीडित बिरामीलाई निःशुल्क औषधि व्यवस्था गरिएको जनाए।
annapurnapost

Comments