
२६ भदौ, वीरगञ्ज । रोल्पामा तरुण दलका नगर अध्यक्ष रोहित पुन हत्याको विरोधमा नेपाल तरुण दल पर्साले वीरगञ्जमा प्रदर्शन गरेको छ ।
हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही नगरेको भन्दै नेकपा नेतृत्वको सरकारको विरोधमा विभिन्न नाराबाजी गर्दै वीरगञ्जमा प्रदर्शन गरेको हो ।उनीहरुले जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छन् ।
वीरगञ्जको घण्टाघर चोकबाट प्रदर्शन गर्दै नेपाल तरुण दलका नेता कार्यकर्ताहरु जिल्ला प्रशासन कार्यालयसम्म पुगेका थिए । त्यहाँ केहीबेर नाराबाजी गर्नुका साथै केही नेताहरुले भाषण गरेका थिए ।
त्यसपछि प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले ज्ञापन पत्र बुझ्न ढिलाई गरेको भन्दै उनीहरुले प्रजिअकै विरोधमा नाराबाजी गरे । उनीहरुले प्रमुख जिल्ला अधिकारी तानाशाही बनेको र तस्करी नियन्त्रण गर्न नसकेको आरोप समेत लगाए । स्थिति केहीबेर तनावपूर्ण बनेको थियो ।
प्रमुख जिल्ला अधिकारी कार्यकक्षबाट बाहिर आएर ज्ञापनपत्र बुझन तयार भएपछि उनीहरु शान्त भएका थिए । प्रमुख जिल्ला अधिकारी पौड्यालले ज्ञापनपत्र बुझ्दै छिटो भन्दा छिटो प्रधानमन्त्रीको कार्यालयमा पठाउने जानकारी दिए ।
तरुण दल पर्साका सचिव विवेककुमार चौरसियाद्वारा हस्ताक्षरित विज्ञप्तीमा घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग गरिएको छ । पीडित परिवारलाई तत्कल प्रदान गर्नुपर्ने, पुनलाई शहीद घोषणा गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा राखिएको छ ।
सरकारले माग पूरा नगरे विरोधमा थप कार्यक्रम ल्याउने तरुण दलका पूर्व अध्यक्ष सहरुम राउत गद्दीले चेतावनी दिए । ‘सत्ताधारी पार्टीको कार्यकर्ताले कानुन हातमा लिएर अपराधिक र आतंककारी शैलीमा नेता पुनको हत्या गरिएको छ ।’ रोल्पाको सुलीचौर बजारमा गोली प्रहार गरी पुनको हत्या गरिएको थियो ।
Comments
Post a Comment