काठमाडौं । दरबार मार्गको एक रेष्टुरेन्ट हिजोआज निकै चर्चामा छ । अन्तराष्ट्रिय मिडियाहरूले समेत दक्षिण एशियाकै पहिलो रोबोटिक रेष्टुरेन्ट सुरू गरेका नेपाली युवाहरूकोबारेमा समाचार सामग्री प्रकाशन/प्रशारण गरिरहेका छन् ।
नेपालमै निर्मित रोबोटले रेष्टुरेन्टमा वेटरको रूपमा सेवा दिएको र विश्वकै एक नमूना रेष्टुरेन्ट काठमाडौंमा सञ्चालनमा आएकोबारे विश्वव्यापि चर्चा सुरू भएसँगै पर्यटन क्षेत्रमा त्यसको सकारात्मक प्रभाव पर्ने आशा गरिएको छ ।
‘सियो पनि नेपालमा बन्दैन’ भन्ने हेपिएको देशको परिचयलाई बदल्न नेपाली युवाहरूले गरेरै देखाएको यो प्रयत्नले प्रबिधिमा हामी पनि कम छैनौं भन्ने गौरवको सन्देश दिएको छ ।
पुल्चोक इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङ गरेका पाँच युवा र व्यवस्थापन अध्ययनरत थप दुर्इ युवाको पहलमा स्थापना गरिएको पाइला टेक्नोलोजी कम्पनीले दरबार मार्गमा ‘नौलो रेष्टुरेन्ट’ नाम राखेर सेवा आरम्भ गरेको छ । शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले केही साता अघि रेष्टुरेन्ट उद्घाटन गरेका हुन् ।
तीनवटा रोबोट वेटरको रूपमा दिनभर खिटिन्छन् । ग्राहक टेवलमा पुगेपछि अर्डरका लागि वेटरलाई डाँक्नु पर्दैन । टेवुलमै डिजिटल मेनु छ, त्यसमा चाहेअनुसारको परिकार, त्यसको तस्बिर र मूल्य त्यहीँ उल्लेख छ । स्मार्ट फोन चलाएजस्तै औंलाले थिचेर अडर गरेपछि त्यो अडर किचनको ठूलो डिस्प्ले कम्प्युटरमा रेकर्ड हुन्छ र त्यहाँबाट रोबोटकहाँ अटोमेटिक अडर नोटिफिकेसन जान्छ ।
किचनमा तयार परिकार लिन रोबोटहरू पुग्छन् र सम्बन्धित टेबुमा खानाका परिकार लिएर रोबोट नै आइपुग्छन् । रोबोट टुबुलमा पुगेपछि सुरूमा टेबुलमा केही चिजहरू छ भने ती हटाउन र टेवल क्लियर गर्न आग्रह गर्दै बोल्छन् । त्यसपछि परिकारका ट्रेहरू रोबोटले टेवलमा राख्छन् र ‘प्लिज इन्ज्वय योर फुड’ भन्दै रोबोट पुनः किचनमा फर्कन्छन् ।
अडर छैन र रोबोटहरू फुर्सदमा छन् भने उनीहरू स्वतः आफ्नो चार्जिङ स्टेशनमा गएर बस्छन्, त्यहाँ चार्ज हुन्छन् ।
फूल चार्ज अवस्थाको रोबोट ८ घण्टासम्म खटिने क्षमताको हुने पाइला टेक्नोलोजी एवं नौलो रेष्टुरेन्टका संस्थापक एवं सिइओ विनय राउत बताउँछन् । उनका अनुसार थप दुई फेरी नाम गरेका रोबोट पनि छन्, उनीहरू ग्राहकको टेवलमा पानी, चम्चा, काँटाहरू लिएर पुग्छन् ।
रेष्टुरेन्टमा आएका ग्राहकसँग रोबोट कुराकानी पनि गर्छ । नाम, उमेर, सन्चो–बिसन्चो, काठमाडौंको मौषम र सोधिएका अन्य प्रश्नको जवाफ मात्रै हैन रोबोटले ग्राहकलाई जोकहरू पनि सुनाएर मनोरञ्जन दिन्छन् ।
जिन्जर नाम गरेकी रोबोटसँगको मेरो संवाद तलको भिडियोमा छ । उसले आफ्नो पिताको नाम पनि सुनाइ । तिमी महिला हो कि पुरूष ? जिन्जरले उत्तर दिएकी छन्- ‘हुन त रोबोटको कुनै लिंग हुँदैन, तर म केटी जस्ती देखिन्छु, मेरो स्वर पनि केटीको छ ।’
‘तिमी एउटा जोक्स सुनाउ न त’ हामीले आग्रह गर्यौं । जिन्जरले सुनाइ–‘एकादेशमा एउटा बृद्ध थियो, उ बाल्यकालमै मर्यो ।’ हा हा हा … हामी मज्जाले हाँस्यौं ।
यो भिडियो हेर्नुस् र ‘मेड इन नेपाल’ रोबोटसँगको कुराकानी र उनीहरूले वेटरका रूपमा कसरी सेवा दिन्छन् प्रत्यक्ष अनुभव गर्नुस्ः
भिडियोः
Comments
Post a Comment