मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका- ११ सालबिसौनाको भैरवीदेवी आधारभूत विद्यालय विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको छ।
यस विद्यालयमा जम्मा पाँच विद्यार्थी मात्र नियमित आउँछन्। चार शिक्षक भए पनि नियमित हुँदैनन्।
गोरखा भूकम्पले विद्यालय भवन भत्काएपछि अहिलेसम्म पनि राम्रोसँग पठनपाठन हुन नसकेको स्थानीयले बताएका छन्। स्थानीय प्रेमबहादुर तामाङको दुई कोठे घर भाडामा लिएर अस्थायीरुपमा पढाइ सञ्चालन गर्न लागे पनि विद्यालय व्यवस्थापन समिति, स्थानीयवासी र शिक्षकको बेवास्ताका कारण विद्यालय बन्द हुने अवस्थामा पुगेको बताइएको छ। शिक्षक तथा विद्यार्थी विद्यालयमा आए नआएको दैनिक हाजिरी अभिलेख पनि छैन्।
प्रधानाध्यापक कमला जोशी विद्यालय व्यवस्थापन समितिको बेवास्ताका कारण विद्यालय यो अवस्थामा पुगेको बताउछन्। स्रोत व्यक्ति भीम कार्की मेलम्ची नगरभित्र अरु सात विद्यालयको अवस्था पनि यस्तै रहेकोले कसरी अगाडि बढ्ने सोच्नुपर्ने बताउछन्। व्यवस्थापन समितिका अध्यक्ष दिनेश घलेले आफूहरु विद्यार्थी सङ्ख्या बढाउन लागिरहेको तथा बैठक बसेर यसबारेमा निर्णय लिइने बताए।
शिक्षा विकास तथा समन्वय एकाइबाट भवन निर्माण गर्न बजेट आएपनि अहिलेसम्म भवन निर्माणको अत्तोपत्तो छैन्।
Comments
Post a Comment