बडीगाड थुनिएर बनेको ताल खोल्न नेपाली सेनाले थाल्यो अध्ययन



असोज, गुल्मी । बालुङ्गको बडीगाट खोलमा पहिरो खसेर बनेको ताल फुटाउन नेपाली सेनाको इन्जिनियर टोलीले अध्ययन गरेको छ ।

मध्यपहाडी लोकमार्गको तुरतुरेमा गत भदौ २९ गते शुक्रबार राति खसेको पहिरो र त्यसले बडीगाड खोला थुनिएको तालको अवलोकन निरीक्षणका लागि पोखराबाट नेपाली सेनाको इन्जिनियरसहितको टोली आएका हुन् ।अध्ययन टोलीमा नेपाली सेनाको पश्चिमाञ्चल पृतना कार्यालय पोखराबाट सेनानी बलबहादुर थापाको कमाण्डमा ११ जनाको इन्जिनियरिङ टोली तथा मध्यपहाडी लोकमार्ग बागलुङ खण्डका डिभिजन इन्जिनियर पनिसँगै रहेका छन् ।

नेपाली सेनाको इन्जिनियरिङ टोलीले मंगलवार तालको पानी खोल्न सकिने नसकिने विषयसँगै लोकमार्ग सञ्चालनमा के गर्न सकिन्छ भन्ने भौगोलिक अध्ययन गरेको बाग्लुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले जानकारी दिए ।

‘नेपाली सेनाको टोली कसरी ताल खोल्न सकिन्छ अध्ययन सुरु गरेको छ,’ प्रमुख जिल्ला अधिकारी खरेलले भने, ‘सडकका इन्जिनियरले सडकको अबस्थाबारे नापजाँच सुरु गरेका छन् ।’

नेपाली सेनासँगै स्थलगत अध्ययनमा पुगेका प्रमुख जिल्ला अधिकारीले भने, ‘ताल खोल्ने बारे सेनाले निकालेको निश्कर्ष अनुसार अगाडि बढिनेछ ।’

पहरीले बनेको तालबाट गत शनिवार बिहान मात्रै ओभरफ्लो भएर बग्न थालेको थियो । तर, पहिरोले बनेको ताल कसरी खोल्ने भनेर विज्ञ टोलीको अध्यनपछि मात्रै बताउने बाग्लुङका प्रमुख जिल्ला अधिकारी खरेलले बताए ।

Comments