
भदौ, काठमाडौं । केपी ओली नेतृत्वको सरकारले वार्ताका लागि २३ वटा विद्रोही समूहको पहिचान गरेको जनाएको छ । सरकारले अब विप्लव समूह र सिके राउतसँग पनि वार्ता गर्ने भएको छ । यद्यपि विप्लव र राउत समूहले भने सरकारसँग वार्तामा बस्ने औपचारिक घोषणा गरेका छैनन् ।
प्रतिनिधिसभाका सांसद एवं नेकपाका नेता सोमप्रसाद पाण्डेयको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीले द्वन्द्वरत समूहलाई वार्तामा आउन सोमबार औपचारिक आह्वान गरेको हो ।१४ भदौदेखि सिंहदरबारभित्र कार्यालय स्थापना गरेर काम थालेको टोलीले वार्ताका लागि २३ वटा समूहहरुको पहिचान गरिसकेको जनाएको छ । तीमध्ये अधिकांश मधेसकेन्दि्रत समूहहरु रहेको वार्ता टोलीका एक सदस्यले जानकारी दिए ।
पहिलो चरणमा चारवटा समूहसित वार्ता गरिने सरकारी वार्ता टोलीले सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो ।
गत ८ भदौमा गठन भएको सरकारी वार्ता टोलीका सदस्यहरूमा सुरेश आले मगर, ताराकान्त चौधरी, लीला भण्डारी र गृह मन्त्रालयका सहसचिव कुमार खड्का सदस्य सचिव छन् । टोलीलाई तीन महिनाको म्याद दिइएको छ ।
को कोसँग हुँदैछ वार्ता ?
सरकारी वार्ता टोलीले छनोटमा परेका भनिएका २३ वटा समूहको नाम भने सोमबारको पत्रकार सम्मेलनमा खुलाउन चाहेन । वार्ताबारे जानकारी दिन सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारी वार्ता टोलीका सदस्यहरु सूचना दिनभन्दा लुकाउनतिर बढी लालायित देखिन्थे ।
२३ समूहसँग वार्ता गर्ने भनिए पनि को-कोसँग वार्ता गरिँदैछ भन्नेबारे विप्लव समूहबाहेक अरुको पहिचान खुलाइएको छैन । थप केही समूहहरुले वार्ताको माग गर्दै टोलीलाई निवेदन दिइसकेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
Comments
Post a Comment