आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै/पूर्बमन्त्री बिक्रम पाण्डेद्वारा शुभकामना ब्यक्त


आज कृष्ण जन्माष्टमी, हिन्दु धर्मावलम्बीले भगवान श्रीकृष्णको पूजा आराधना गर्दै कृष्ण जन्माष्टमी मनाइरहेका छन् । विहानैदेखि देशभरका कृष्ण मन्दिरहरुमा दशनार्थीको घुँइचो लागेको छ । भगवान विष्णुको आठौँ अवतारका रुपमा द्वापर युगमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास गरिन्छ । ज्ञानयोग, भक्तियोग र कर्मयोगका प्रणेता भगवान श्रीकृष्णको जन्म हिन्दु धर्मशास्त्र अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको थियो । मध्यरातमा जन्मिएका कारण भाद्र कृष्ण अष्टमीको दिनलाई कृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । बासुदेव र देवकीका आठौ सन्तानको रुपमा श्रीकृष्णको जन्म मथुरामा भएको थियो । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट संसारलाई मुक्त गराउन द्वापरयुगमा भगवान विष्णुले कृष्णको रुपमा जन्म लिएको धर्मशास्त्रमा उल्लेख छ । कृष्ण जन्माष्टमीका दिन हिन्दु धर्मावलम्बीले विशेष श्रद्धापूर्वक उनको पूजाअर्चना गर्ने प्रचलन रहेको छ ।

त्यसैले यो दिन कृष्ण मन्दिरहरुमा गई भक्तजनले पूजाआराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेषगरी महिलाहरु रातभर जाग्राम बस्ने चलन छ । कुरुक्षेत्रमा कौरबसँगको लडाईमा पाण्डब मध्ये अर्जुनलाई श्रीकृष्णबाट व्यक्त उपदेश श्रीमद्भागवत गीता हिन्दु धर्मको पवित्र ग्रन्थ हो । बाल्यकालदेखि नै विभिन्न लिला देखाएका श्रीकृष्णले कंस, पुतना, शिशुपालजस्ता दानवको संहार गरेका थिए । कृष्ण जन्माष्टमीमा ललितपुरको कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गर्छ । काठमाडौँ लगायत देशभरका कृष्ण मन्दिरहरुमा झाँकी र शोभा यात्रा निकाल्ने गरिन्छ ।

यसैबिच पुर्ब मन्त्री एवं राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष बिक्रम पाण्डेले हिन्दु समुदायको महान् पर्व कृष्ण जन्माष्टमीको अवसरमा विश्वभर छरिएर रहेका सम्पुर्ण हिन्दुहरु प्रति हार्दिक शुभकामना ब्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै पुर्ब मन्त्री पाण्डेले भगवान श्रीकृष्णको जीवनी बाट सत्यको बाटोमा लाग्ने प्रेरणा प्राप्त हुने उल्लेख गर्नुभएको छ ।

“भगवान श्रीकृष्णले सत्यको पक्षमा रही सत्कर्मको मार्गमा लाग्न मानव समुदायलाई प्रेरित गर्नुभए अनुसार अगाडी बढ्ने हो भने संसारबाट दुःख हरण हुने छ” शुभकामना सन्देशमा भनिएको छ “अजकै दिनदेखि मानब जगतमा सद्बुद्धि मिलोस र भाईचाराको भावनाले समाजमा सुख, शान्ति र सम्बृद्धि फैलिंदै जाओस् ।”
साथै उहाँले हिन्दुत्वले मात्रै सम्पुर्ण नेपालीहरुलाई एकताको सुत्रमा बाँधेर राख्न सक्ने धारणा ब्यक्त गर्नुभएको छ ।

Comments