
२६ भदौ, तौलिहवा । कपिलवस्तुकी एक किशोरी पाँच दिनदेखि सम्पर्कविहीन भएकी छन् । वाणगंगा नगरपालिका ९ भलवाडकी १६ वर्षीया किशोरी बसन्ता बन्जाडे सम्पर्कविहीन भएकी हुन् ।
यही भदौ २१ गते विद्यालय जान भनेर घरबाट हिँडेकी उनी अझैसम्म घर नफर्किएको अभिभावकको भनाइ छ । आमा सुनिता बन्जाडेले भदौ २२ गते इलाका प्रहरी कार्यालय पिप्रामा छोरी खोजिदिन अनुरोध गर्दै निवेदन दिएकी छन् ।अभिभावकको निवेदनको आधारमा खोजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय पिप्राका इन्सपेक्टर चन्द्र केसीले जानकारी दिए । उनले भने, ‘उनको फोटो र हुलियासहित सबैतिर परिपत्र गरेका छौं । खोजतलास तीव्र बनाएका छौं ।’
प्रत्यक्षदर्शीका अनुसार सो दिन बसन्ता बाग्लुङ बुर्तिवाङ माइती घर बताउने सीता परियारसँग देखिएकी थिइन् । सीता पनि परिवारको सम्पर्कमा नआएको भन्दै उनका श्रीमान शिव परियारलेसमेत इलाका प्रहरी कार्यालय पिप्रामा निवेदन दिएका छन् ।
इन्सपेक्टर केसीले भने, ‘बसन्ताको आमा सुनिता र सीताको श्रीमान शिवले संयुक्तरुपमा निवेदन दिनु भएको छ । सुनिताले छोरी बसन्ताको फोटो पनि दिनु भएको छ तर, शिवले भने फोटो दिनु भएको छैन, टेलिफोन नम्बर मात्र छाड्नुभएको छ ।’
प्रहरीले अनुसन्धानको लागि कल डिटेल झिकाउने प्रक्रिया अगाडि बढाएको छ । त्यसका लागि अदालती प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । ‘अदालतबाट अनुमति पाउनासाथ टेलिकमबाट कल डिटेल झिकाएर थप अनुसन्धान अगाडि बढ्छ,’ इन्सपेक्टर केसीले भने ।
Comments
Post a Comment