निर्मलाको हत्यारा खोजीः बाटोमा जसलाई भेट्यो, उहीमाथि शंका !



असोज, काठमाडौं । कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने राज्यको अंग प्रहरी आफैं विवादमा तानिएको छ । प्रश्न के उठेको छ भने प्रहरीले अहिलेसम्म के गर्‍यो ?

‘मानसिक सन्तुलन’ गुमाएका व्यक्ति दिलिपसिंह विष्टलाई मुख्य अभियुक्त बनाएर पर्दा पछाडिका ‘भीआईपी हत्यारा’ लाई जोगाउने चक्करमा अनुुसन्धान घुमेको स्थानीयको दाबी थियो । जसलाई बल पुर्‍याउने गरी डीएनए रिपोर्ट पनि आइसकेको छ । र, विष्ट साधारण तारेखमा छुटिसकेका छन् ।प्रकरणको अनुसन्धानको लागि संगठित अपराध अनुसन्धानको लागि मुलुककै मुख्य निकाय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पनि खटिएको थियो । यद्यपि, परिणामले उसकै अनुसन्धानमाथि पनि प्रश्न उठाएको छ ।

प्रहरीले नियतवश गलत व्यक्तिहरुलाई उठाएर अनुसन्धानका नाममा यातना दिएको पनि दाबी गरिएका छन् ।

आखिर वास्तविकता के हो ? घटनाको अनुसन्धान कसरी भएको थियो ? अनुसन्धानका क्रममा केके भए ? विष्टलाई प्रहरीले मुख्य अभियुक्तको रुपमा किन खडा गर्‍यो ? यी विषय अहिलेसम्म सार्वजनिक भएका छैनन् ।

निर्मलाको बलात्कार र हत्याबारे अनुसन्धान गर्ने क्रमका प्रहरीले गरेका अन्तरकुन्तरका गतिविधिलाई अनलाइनखबरले खोतल्ने प्रयास गर्दा यस्ता तथ्यहरु फेला परे–

एकातिर आन्दोेलन, अर्कातिर अनुसन्धान

घटनाको प्रारम्भिक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरबाट सुरुमा १२ जना अधिकारी खटिएका थिए । दुई दिनपछि अनुसन्धानका लागि सीआईबीको जघन्य अपराध पिल्लरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसीको नेतृत्वमा ३ जनाको टोली पनि कञ्चनपुर पुग्यो ।

तर, त्यहाँ पन्त हत्या प्रकरणलाई लिएर आन्दोलन चर्किसकेको थियो । प्रहरी टोलीलाई एकातिर डांग्री लगाएर आन्दोलनमा जानुपर्ने बाध्यता थियो भने अर्कातिर निर्मलाका हत्यारा खोज्नुपर्ने दायित्व ।

यी दुई जिम्मेवारीबीच प्रहरीले विभिन्न व्यक्तिलाई कार्यालयमा ल्याएर कागज गराउँदै छाड्दै गरिरहेको थियो । त्यस क्रममा १ सय जनालाई कागज गराएर छाडिएको थियो भने करिब ४ सय जनालार्इ सोधपुछपछि रिहा गरेको कञ्चनपुर प्रहरी स्रोत बताउँछ ।
आन्दोलन चर्किरहेकै थियो तर, प्रहरीले घटनामा संलग्नको गतिलो सुराक फेला पार्न सकिरहेको थिएन । प्रहरीलाई आशंका थियो, ‘कतै घटनामा संलग्न पनि आन्दोलनमा उत्रिसके कि ?’

प्रिअकुुपाइड टार्गेट– बम दिदीबहिनी !

स्थानीयको आन्दोलनले बम दिदीबहिनीलाई पक्राउ गर्न माग गरिरहेको थियो, जुन अनुसन्धान अधिकारीलाई नागरिकले दिएको ‘प्रिअकुपाइड टार्गेट’ थियो ।

‘त्यो टार्गेट वास्तवमा सही पनि थियो, किनकि निर्मलाको हत्या हुनुअघि उनी अन्तिम पटक बम दिदीबहिनीकै घर गएकी थिइन्’, एक अनुसन्धान अधिकारी भन्छन्, ‘घटनास्थलको विश्लेषणपछि हामीले बम दिदीबहिनीको पाटोलाई केलाएका थियौं ।’

प्रहरीले बम दिदीबहिनीले प्रयोग गरेको मोबाइललाई विश्लेषण गर्‍यो । उनीहरुका सेटमा ३ वटा सीम कार्ड प्रयोग भएको देखिएको थियो । एउटा अनएक्टिभ (निश्क्रिय) थियो । ती सबै सीमको कल डिटेल रेकर्ड (सीडीआर) निकाल्ने काम प्रहरीले गर्‍यो ।

कलवाइज लोकेसनदेखि एसएमएससम्म प्रहरीले परीक्षण गर्‍यो । बबिताको पासवर्ड मागेर फेसबुक हेर्‍यो । त्यति मात्र होइन, मोबाइलबाट केही डिलिट भएको छ कि भनेर प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा लगेर भाइबर, म्यासेन्जर लगायतबाट डिलिट भएका डाटालाई पनि एक्टिभ गरियो ।

तर, शंकास्पद केही भेटिएन । प्रहरीले बम दिदी बहिनीको पोलिग्राफ परीक्षण पनि गर्‍यो । त्यसबाट पनि कुनै फाइदा भएन ।

‘जति पनि टेक्निकल्ली हेर्‍यौं, उनीहरुको लिंक काहीँ पनि भेटिएन’, अनुसन्धान अधिकारी भन्छन्, ‘साइकल भेटिएपछि लास पनि त्यहीँ होला भनेर बबिताले एकजना महिलालाई भनेको सुनेपछि हामीले केही न केही त छ कि भनेर आशंका गरेका हौं । तर, त्यसलाई पुष्टि गर्ने आधार भेटिएन ।’

प्रहरी प्रधान कार्यालयले एसपी कुवेर कडायतलाई कञ्चनपुर पठाएपछि पनि बम दिदी बहिनी पक्राउ त परे । तर, प्रमाणको अभावमा फेरि उनीहरु छुट्न सफल भए ।

यो पनि पढ्नुस्, निर्मला हत्याकाण्डः प्रहरी ५ ठाउँमा चुक्यो, अब के गर्ने ?

बाटोमा जसलाई भेट्यो, त्यहीमाथि शंका !

आन्दोलन चर्किरहेकै थियो तर, प्रहरीले घटनामा संलग्नको गतिलो सुराक फेला पार्न सकिरहेको थिएन । प्रहरीलाई आशंका थियो, ‘कतै घटनामा संलग्न पनि आन्दोलनमा उत्रिसके कि ?’

यद्यपि, प्रहरीमाथि हत्यारा चाँडो पत्ता लगाउनुपर्ने नागरिक दबाव बढ्दै गयो । दबावै दबावबीच केही जुनियर अनुसन्धान अधिकारीहरु घटनास्थल आसपास रेकी गरिरहेका थिए ।

घटनास्थल नजिक बाटोमा जो भेटिए पनि यही पो हत्यारा हो कि भनेर उनीहरुले शंका गरिहाल्थे । त्यसुपछि ‘हाकिम सा’ब ल्याउँ’ भन्दै फोन गरेर सोध्थे र उठाएर प्रहरी कार्यालयमा ल्याइहाल्थे ।

साइकल उत्तानो थियो कि घोप्टो ?

सर्च अभियानकै क्रममा भेटिए– निर्मला पन्तको साइकल देख्ने व्यक्ति ।

निर्मलाको शव भेटिएको अघिल्लो दिन अपरान्ह ४ बजे नै घना भण्डारीका भतिजा ६ वर्षीय बालक सन्दीपले एउटा साइकल देखे । उनले आमालाई सुनाए । सन्दीपले आमा र ठूलीआमासँग घाँस काट्न त्यहाँ आएका बेला साइकल देखेका थिए ।

तर, आमाले ‘कसैले फालेको होला’ भन्ने जवाफ दिइन् । रुखबाट सेउला काटिरहेका बेला त्यसको ठीक तल साइकल लडिरहेको देखिएको थियो । साइकल देख्नेहरुलाई बालिका हराएको थाहा थिएन । किनकि, उनीहरु अर्को गाउँबाट त्यहाँ घाँस काट्न आएका थिए ।

भोलिपल्ट बिहानै सहकारीमा महिलाहरु बैठकका लागि भेला भए । त्यहाँ निर्मला हराएको बारे कुरा चल्यो । ‘हिजो गोलकप्पे दिदीको छोरी हराएकी छे । साइकल लिएर बमको घरमा गएकी, फर्किएर आउँदै आइन’, महिलाहरुले यसो भनेको सुनेपछि सन्दीपकी आमाले साइकल देखेको अघिल्लो दिनको कुरा सुनाइन् ।

Comments