कमलमणि : पटोल बाबुकै पथमा



सत्यजीत रेले लेखेको एउटा घतलाग्दो कथा छ, ‘पटोल बाबु : फिल्म स्टार ।’

बुढ्यौली जीवन बिताइरहेका पटोल बाबुलाई एक अप्रत्यासित अफर आउँछ, फिल्म खेल्ने ।पटोल बाबु गद्गद हुन्छन् । अभिनय गर्न पाइने कुराले उनका शरीरका अवयव स्वत:स्फूर्त तङ्ग्रिन्छन् । किनकि, अभिनयको भोक उनमा सानैदेखि जागेको हुन्छ । वैंशालु उमेरमा उनले नाटक खेलेका हुन्छन् ।

फिल्म छायांकनको दिन उनी निर्धारित समयमै पुग्छन् र दिनभर पालो कुरेर बस्छन् । आफ्नो भूमिका र संवादबारे उनमा उत्सुकता जाग्छ । निर्देशकले उनलाई एउटा बेहोसी व्यक्तिको भूमिका निर्वाह गर्न भन्छन्, जुन बेहोसीमै कतै हिँडिरहेको हुन्छ । दोस्रो व्यक्तिसँग ठोक्किदा पटेलबाबुको मुखबाट निस्कनुपर्ने आवाज चाहिं बस् यत्ति हो, ‘अहो !’

उनको भूमिका र संवाद अपेक्षाकृत एकदमै छोटो हो । तर, उनी आफ्नो भूमिकालाई कसरी प्रभावकारी बनाउने भन्नेमा खुब घोत्लिन्छन् । अन्ततः उनलाई क्यामेरा अघिल्तिर बोलाइन्छ । सानै भूमिका सही, उनले भएभरको शक्ति र सामर्थ्य निकालेर निर्देशकले भनेबमोजिम गर्छन् । एक टेकमै उनको दृश्य चित्तबुझ्दो हुन्छ ।

नेपाली ‘पटोल बाबु’सत्यजीत रेले रचना गरेका पटोल बाबुजस्तै लाग्छन्, चरित्र अभिनेता कमलमणि नेपाल ।

‘कमलमणि’ नाम झट्टा सुन्दा तपाईको कान त्यति ठाडो नहोला, जति कबड्डीका दलित बाको स्मरण गर्दा हुन्छ ।

‘कबड्डी–कबड्डी’मा रक्सीले फिट्टु, दुईवटा पार्टीको झन्डा बोकी हिँड्ने, दुवैतिरबाट फाइदा खान बठ्याइँ गर्ने मन्द बुद्धिका झ्याउसे बूढा भन्नासाथ तपाईंको मुखबाट यस्तो आवाज आउनसक्छ, ‘ए हो त, कस्तो रमाइलो क्यारेक्टर हगि ?’

फिल्म ‘हरि’मा हरिको कनिष्ठ सहकर्मी, ‘जात्रा’का डनजस्ता केही नाम फटाफट भनेपछि तपाईंको मस्तिष्कमा त्यो पात्रको सग्लो रूप ठिंग उभिन आइपुग्छ ।

कमलमणिले अहिलेसम्म केन्द्रीय चरित्र निर्वाह गरेका छैनन् । तर, जे, जस्तो भूमिका पाएका छन्, त्यसलाई खुब घतलाग्दो बनाएका छन् । कहिलेकाहीँ त यी सहायक पात्रको सामुन्ने, मूल पात्र पनि बामपुड्को लाग्नसक्छ ।

सानो, मध्यम वा छोटो भूमिकाबाटै दर्शकको मन कब्जा गर्न सक्नु उनको सौभाग्य पक्कै होइन । बरु मेहनत, लगाव, साधना वा खुबी हो ।

दर्शकको संवेदनासँग खेल्न फिल्ममा मूल पात्रको डिजाइन गरिन्छ । त्यस्तो अवस्थामा साहयक पात्रको उपस्थिति पनि मूल पात्रलाई सशक्त बनाउनका लागि हुने गर्छ । तर, त्यही टेकोमा उभिएर कति सहायक पात्रले दर्शकको संवेदना आफूतिर तान्ने सामर्थ्य राख्छन् । हो, ठ्याक्कै यस्तै पात्र हुन्, कमलमणि, यही रेका पटोल बाबुजस्तै ।

Comments