भैरव नाच सम्पन्न

भैरव नाच सम्पन्न

भक्तपुर, १६ भदौ: मध्यपुरथिमिमा विगत चारदिनदेखि नियमित रुपमा सञ्चालित मल्लकालीन लाय्कु भैल ः अर्थात भैरव जात्रा आजबाट सम्पन्न भएको छ । गतवर्ष लायकु दरबारबाट प्रर्दशन गरिएको यो नाच यस वर्ष भने लायकु भैलका नायो पमाः श्यामकाजी श्रेष्ठको स्वीकृतिमा मध्यपुरथिमि ५ नासननी टोलका प्रजापतिहरुले सञ्चालन गरेका हुन् । तान्त्रिक एवं ऐतिहासिक भैरव नाच भाद्र कृष्ण द्धितीया (गुँलागा द्वितीया) देखि पञ्चमीसम्म मनाइने गरिएको लायकु भैल गुरु अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।

भैरव दुई, दाय्गी अर्थात कुमारी दुई, र ज्यापूँगचा एक गरी ५ जना देवगण रहने यो नाच तान्त्रिक विधि पूरा गरेर दैवी शक्ति प्राप्त गरी सञ्चालन हुने नाचका मूल गुरु श्रीगोपाल प्रजापतिले जानकारी दिनुभयो । जसमा भैरवले खड्ग, कुमारीले डमरु र ज्यापूँगचाले ज्यापूँग अर्थात कपासको बियाँ, अक्षता, ताय् भएको भाँडो, हातमा लिएर विभिन्न तालमा विभिन्न हाउभाउ प्रस्तुत गर्दै नाच्ने परम्परा रहेको छ ।
नाचका लागि १२ जनाले दागः, आठ जनाले भुस्या, आठ जनाले पोङ्गा र चारजनाले मुहाली बजाई सुरताल दिने व्यवस्थापक चन्द्रकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

शास्त्रीय एवं तान्त्रिक विधिको प्रयोग गरी देवगणको शरीरमा शक्ति प्रवेश गराई नाच नचाउने परम्परा हरेको उहाँले बताउनुभयो । प्राचीनकालमा मध्यपुर थिमि क्षेत्रका बासिन्दालाई भूतप्रेत, पिसाचले दुःख दिएपछि तान्त्रिकमार्फत मानिसको शरीरमा भैरव, कुमारीको शक्ति प्रवेश गराई क्रोधित मुद्रामा टोलटोलमा नचाएपछि भूतप्रेत टिक्न नसकेकाले त्यसपछि यो नाच चल्दै आएको किम्बदन्ती रहेको स्थानीय भैरव नाच व्यवस्थापन समितिका सचिव विकास प्रजापतिले बताउनुभयो ।
–––

Comments