साफ सुजुकी कपः भारत समूह ‘बी’ विजेता, नेपालको प्रतिद्धन्द्धी केही बेरमा टुङ्गो लाग्ने



ढाका (हाम्रो खेलकुद) – साविकको विजेता भारत समूह ‘बी’ को विजेता बन्दै सेमिफाइलमा प्रवेश गरेको छ । समूह ‘बी’ को विजेता बन्ने क्रममा भारतले आइतबार माल्दिभ्समाथि २–० को सहज जित निकाल्यो ।समूहमा भारत अपराजित रह्यो । भारतले यसअघि श्रीलंकालाई २–० ले नै पराजित गरेको थियो । भारतले अब फाइनल प्रवेशको लागि पाकिस्तानसँग खेल्नेछ । भारतको जितमा निखिल चन्द्रशेखर र मनभीर सिंहले गोल गरे ।

ढाकास्थित बंगबन्धु रंगशालामा भैरेहको खेलमा भारतले खेलको ३६औं मिनेटमा निखल चन्द्रशेखरको गोलबाट अग्रता बनाएको थियो । ४४औं मिनेटमा मनभीर सिंहले गोल गरेपछि भारतले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा भारत २–० ले विजयी हुन सफल भएको थियो ।

समुह उपविजेता भने गोलाप्रथाको आधारमा आधारमा हुनेछ । माल्दिभ्स र श्रीलंकाले भारतसँग समान २–० को हार बेहोरेपछि र समान अंक भएपछि आयोजक साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले गोलाप्रथाको आधारमा टिम छनोट गरिने बताएको छ । गोलाप्रथामा विजयी हुने टोलीले सेमिफाइनलमा नेपाल प्रतिद्धन्द्धी पाउनेछ ।

सेमिफाइनल खेल १२ सेप्टेम्वरमा हुनेछ ।

Comments