टेनिस विवादः सेरेनाको आरोपमा कति दम ?



२६ भदौ, काठमाडौं । यूएस ओपनको फाइनललाई लिएर सुरु भएको विवाद रोकिएको छैन । सेरेना विलियम्सलाई आचारसंहिता उल्लंघन गरेको अभियोगमा १७ हजार डलर जरिवाना लगाइएको छ ।

सो खेलमा जापानकी नाओमी ओशाकासँग हारेकी सेरेनाले अम्पायरलाई ‘ढंटुवा’ र ‘चोर’ भनेकी थिइन् । सेरेनाको व्यवहारले म्याचको नतिजालाई नै ओझेलमा पारिदिएको छ ।अम्पायरले पहिला अपशब्द बोलेकोमा सेरेनामाथि ‘गेम पेनाल्टी’ लगाएका थिए । फेरि रिसमा र्‍याकेट भुइँमा फालेका कारण ‘प्वाइन्ट पेनाल्टी’ लगाइयो । त्यसपछि सेरेनाले आफूमाथि लैंगिक विभेद भएको आरोप लगाइन् ।

के उनको आरोपमा सत्यता छ ? वा यो अप्रत्याशित हारबाट उत्पन्न प्रतिक्रिया मात्र हो ?

बीबीसीका टेनिस प्रिजेन्टर सु बार्कर भन्छन्, ‘अम्पायर नियमअनुसार चलिरहेका थिए तर, सेरेनाले भनेका कुरामा पनि दम छ ।’

बार्कर वर्ल्ड नम्बर ३ भइसकेका खेलाडी पनि हुन् । उनले १९७६ मा फ्रेन्च ओपन जितेका थिए । उनी भन्छन्, ‘मैले थुप्रै खेल देखेको छु, जहाँ पुरुष खेलाडी एम्पायरमाथि चिच्याउँछन् तर, उनीहरुलाई पेनाल्टी लगाइएको छैन ।’

उनले अघि भने, ‘कहिलेकाहीँ एम्पायर नियम पालना गर्दैनन् र खेलाडीलाई छुट दिन्छन् । उनीहरुले सबैलाई समान व्यवहार गर्नुपर्छ ।’

यही प्रतियोगिताका क्रममा एलिज कोरनेटले कोर्टमै टि-शर्ट परिर्वतन गरेकोमा पेनाल्टीको सामना गर्नु परेको थियो, जसमा विवाद पनि भयो ।

को हुन् कार्लोस रामोस ?

यो खेलका कारण विवादमा आएका कार्लोस रामोस पोर्चुगलका टेनिस अम्पायर हुन् । इन्टरनेसनल टेनिस फेडेरेसन र्‍याङ्किङअनुसार उनी गोल्ड ब्याच जज हुन् । उनी सबै ग्राण्डस्लाम प्रतियोगितामा बस्ने पहिलो अम्पायर पनि हुन् । उनले थुप्रै हाइ-प्रोफाइल म्याचको एम्पायरिङ मात्र गरेका छैनन्, खेलाडीसँग कोर्टमा विवाद पनि सामना गरेका छन् ।

सेरेना विलियम्सभन्दा अगाडि २०१६ मा फ्रेन्च ओपनको एक म्याचमा निक किरगियोस्लाई उनले नियम उल्लंघन जारी गरे किनकी उनी टावल ब्वाइमाथि कराएका थिए । त्यही वर्ष रियो ओलम्पिकमा रामोसले एण्डी मुर्रेमाथि पेनाल्टी ठोके, जब उनले बकवास एम्पायरिङको आरोप लगाए ।

२०१७ को फ्रेन्च ओपनमा फेरि मुर्रेमाथि पेनाल्टी लगाए । नोभाक जोकोभिच पनि थुप्रै पटक उनको कारबाहीमा परेका छन् ।

रामोस एक्ला होइनन्

टेनिसमा पेनाल्टी नयाँ पनि होइन । विगतमा थुप्रै खेलाडी एम्पायरविरुद्ध उत्रिएका छन् । आफ्नो शानदार टेनिसका कारण चर्चित बनेकाहरु एम्पायरसँग झगडा गरेका कारण बदनाम पनि भएका छन् ।

उनीहरुमध्ये एक हुन् जोन म्याकनरो । उनले २९८१ मा विम्बल्डनका एम्पायर एडवर्ड जेम्सलाई ‘बेवकूफ’ भनेका थिए, जसका कारण उनीमाथि १५०० डलर जरिवाना लाग्यो । यसमा बाबजुद उनले खेल जिते । तर, यति रिसाएका थिए कि च्याम्पियनहरुको डिनरमा समेत सहभागी भएनन् ।

१९९५ मा जेफ टरान्गो जर्मनीका एलेक्जेण्डर एमरोजविरुद्ध खेलिरहेका थिए । दर्शकहरुले हुटिङ गरेपछि उनले ‘शटअप’ भन्दै कराए । एम्पायर रिबुयले उनमाथि नियम उल्लंघन जारी गरे । टरान्गोले उनलाई खेलका सबैभन्दा भ्रष्ट अफिसियलको आरोप लगाए । उनी बल फाल्दै कोर्टबाट बाहिर गए ।

पछि उनीकी पत्नीले एम्पायरविरुद्ध मुद्दा नै हालिन् । टरान्गोमाथि ठूलो जरिवाना मात्र लागेन, अर्को वर्ष प्रतियोगिता नै गुमाए ।

Comments