एकै घरमा बालबालिका सहित ५ जनाको शव भेटिएपछि…



सिड्नी। पश्चिम अस्ट्रेलियाको पर्थमा एक घरमा बालबालिका सहित कम्तीमा पाँच जनाको शव भेटिएको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन्।

प्रहरीको वक्तव्यमा बालबालिका सहित धेरै जनाको शब भेटिएको उल्लेख छ। अनुसन्धाताहरुले मृतकको एकिन संख्या खुलिनसकेको बताएका छन्। मृतकको उमेर र लिङ्ग पहिचान पनि हुन नसकेको प्रहरीले बताएको छ।

एकजना करिब २० वर्षको हाराहारीका व्यक्तिले प्रहरी समक्ष आत्मसमर्पण गरी शबका बारेमा जानकारी दिएका थिए। प्रहरीले भनेको छ, “ती व्यक्ति प्रहरीको नियन्त्रणमा छन् र प्रहरीलाई घटनाको यथार्थता बताउन सहयोग गरिरहेका छन् ।”

प्रहरी नियन्त्रणमा रहेका ती व्यक्तिसँग मृतकहरुको सम्बन्धका बारेमा पनि प्रहरीले अनुसन्धान जारी राखेको छ।

अस्ट्रेलियामा पछिल्ला दिनहरुमा व्यक्ति हत्याका घटनाहरुमा वृद्धि भएको छ। सिड्नीमा हालै मात्र एक बाबुले छोरा र छोरीको गोली हानी हत्या गरेर आफैं आत्महत्या गरेका थिए।

एक अर्को घटनामा पश्चिम अस्ट्रेलियामा पनि एक जना हजूरबाबुले आफ्नी पत्नी, छोरी र चारजना नातिनातीनाको हत्या गरेर आत्महत्या गरेको प्रहरीले जनाएको छ। एएफपी

Comments