भारतीय धम्कीसँग भिड्दै संविधान बनाउने कृष्ण सिटौला, नेकपाले गर्यो उच्च प्रशंसा



काठमाडौं– संविधान जारी भएको तेस्रो वर्षको अवसरमा बुधबार देशभर संविधान दिवस मनाइँदैछ। २०७२ असोज ३ गते संविधानसभाबाट संविधानको घोषणा हुन नदिन थुप्रै दबाब र धम्की आएका थिए।

त्यतिबेला संविधानको मस्यौदा बनाउने जिम्मेवारीको नेतृत्व नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले सम्हालेका थिए। उनलाई भारतले दबाबका साथै धम्की पनि दिएको थियो। कांग्रेसमा भारतसँग टक्कर लिने नेता थोरै भएका बेला संविधान जारी गर्दा भारतीय धम्कीसँग भिड्ने एक्ला नेता थिए सिटौला।

नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलका उपनेता एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङका अनुसार असोज ३ गतेको निर्धारित मितिमै संविधान जारी गर्न सिटौलाको भूमिका महत्वपूर्ण छ। यसअर्थमा नेम्वाङले सिटौलाको प्रशंसा गरेका छन्।



सिटौलाबारे यसो भन्छन् नेम्वाङ

नेपाली कांग्रेस संस्थागत रुपमा संविधान जारी गर्ने पक्षमा उभिएको थियो । तर त्यहि पार्टीका नेताहरु अहिले नगरौं भन्नेमा थिए । तर, संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलालाई संविधानको मस्यौदा संविधानसभा अध्यक्षलाई नबुझाउन खुलेआम दबाब र धम्की दिइएको थियो ।

सिटौलालाई मस्यौदा नबुझाउन दबाव दिनेहरु को को थिए रु म अहिले मेरो मुखबाट यो कुरा भन्न चाहान्न । दुनियाँले बुझेकै छ । तर, सिटौलाजीले पनि बुझ्नुभएको थियो, यदि एक दिन ढिला गर्ने हो भने संविधानसभाले संविधान जारी गर्न सक्दैन ।

त्यसैले उहाँले दबाब मान्नु भएन आफ्नै साथीभाइको पनि । वास्तवमा सिटौलाजीले दह्रो खुट्टा नटेकेको भए कांग्रेस संविधान जारी गर्ने पक्षमा उभिने थिएन ।

तर, कृष्ण सिटौलाजी, जो त्यतिबेलाको संविधान मस्यौदा समितिको सभापति हुनुहुन्थ्यो, उहाँको भूमिका महत्वपूर्ण रह्यो । उहाँलाई मस्यौदा लुकाउन वा नबुझाउन ठूलो दबाव थियो । उहाँले आन्तरिक र बाह्य दबाव सामना गरेर मस्यौदा बुझाउनुभयो त्यसकारण उहाँको भूमिका सकारात्मक रह्यो ।

Comments