तपाईको एटीएम कार्ड कति सुरक्षित ? ह्याक गर्ने भारतीय गिरोह समातियो


२५ भदौ, काठमाडौं । नक्कली एटीएम बनाएर लाखौं चोरी गर्ने गिरोह काठमाडौंबाट पक्राउ परेको छ । यससँगै म्याग्नेटिकबाट चिपमा जाँदा पनि एटीएम ह्याक गरेर रकम चोरी गर्ने क्रम नरोकिएको पुष्टि भएको छ ।

एटीएम कार्ड ह्याक गर्ने गिरोहहरु भेटिएपछि प्रहरी र राष्ट्र बैंकले बैंकहरुलाई एटीएम म्याग्नेटिकबाट चिपमा परिणत गर्न सुझाएको थियो । त्यसअनुसार अहिले अधिकांश बैंकहरुले एटीएममा चिप प्रयोग गर्न थालेका छन् ।यो सुरक्षित मानिएको थियो । तर, काठमाडौं प्रहरी परिसरले सोमबार नक्कली एटीएम बनाएर पीओएस मेसिनबाट अरुको लाखौं रुपैयाँ निकाल्ने गिरोहलाई समातेको छ ।

गिरोहका नाइके भारतका ३४ वर्षीय जिन्टु जोयसहित दिल्लीका ३२ वर्षीय विकास गोसाईं, तिटी बलजितनगरका २८ वर्षीय बिटु गौतम पक्राउ परेका छन् । बिचौलियाको भूमिकामा रहेका काभ्रेको तिमाल–९ का २४ वर्षीय विजय दोङ लामा र काठमाडौं–१७ का ३२ वर्षीय अनुज नकर्मी पनि पक्राउ परे ।

नक्कली क्रेडिट कार्ड बनाएर लाखौं रकम निकालिरहेको सूचनाको आधारमा खटिएको विशेष टोलीले बिहान ८ बजे ठमेलको सञ्चयकोष अगाडि रहेको होटल ओएसिसबाट ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको परिसरका प्रमुख एसएसपी वसन्त लामाले बताए ।

Comments