बाँदरको आतंकबाट बच्न हनुमान चालिसा पढ्नु” :- योगी आदित्यनाथ


भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मथुरा – वृन्दावनका बासिन्दालाई बाँदरको हमलाबाट बच्नका लागि हनुमानको नियमित पूजा गर्न र हनुमान चालिसा पाठ गर्न सुझाव दिएका छन् ।आदित्यनाथ शुक्रबार बेलुका वृन्दावनमा श्रीकृष्ण जन्माष्टमीको उपलक्ष्यमा आयोजित एक सांस्कृतिक कार्यक्रममा जाँदा उनलाई केही स्थानीयले उक्त क्षेत्रमा बाँदरको आतंकबारे जानकारी दिए ।

यसबाट बच्नका लागि उनले मानिसहरुलाई हनुमान चालिसा पाठ गर्न र बाँदरमाथि अत्याचार नगर्न सुझाव दिए । यसका लागि उनले आफ्नो अनुभव साझा गर्दै भने, ‘गोरखपुरमा आफ्नो कार्यकालमा एउटा बाँदर मेरो काखमा आएर बस्यो । मैले त्यसलाई केरा दिएँ । भोलिपल्टदेखि त्यो बाँदर दिनदिनै आउन थाल्यो र मैले त्यसलाई एउटा फल दिन थालें ।’

योगीले थपे, ‘एकदिन एउटा कार्यकर्ताले मलाई किन बाँदरलाई काखमा राखेको भनेर सोधे । अर्को दिन जब ती कार्यकर्ता आए बाँदरले उनलाई हमला गर्न तयार भयो । यस्तो देखेर मैले बाँदरलाई गाली गर्दा ऊ रुखमा चढ्यो ।’

योगीले यस्तो प्रेमपूर्ण व्यवहारले बाँदरको स्वभाव परिवर्तन भएको बताउँदै बाँदरलाई धपाउने काम बन्द गर्न आग्रह गरे । उनले भने, ‘बाँदरलाई माया गर्नुहुन्छ भने उनीहरु तपाईंका लागि समस्या होइन, लाभदायक हुनेछन् ।’ एजेन्सी

Comments