कारको ठक्करबाट युवकको मृत्यु


उर्लाबारी, मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार साँझ कारको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १५ च २०६३ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको ना ४० प १९४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार झापा, मेचीनगर नगरपालिका–१० धुलाबारी बस्ने ३० वर्षीय राजु कार्कीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक खोटाङ, रुपाकोट–मझुवागढी नगरपालिका– ८ बस्ने ३० वर्षीय चन्द्रबहादुर गुरुङ गम्भीर घाइते भएकाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

ठक्कर दिने कारलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए ।

Comments