फुजेल हत्या काण्डका आरोपी रिहा, कार्यकर्ताद्वारा करागार परिसरमै खुसीयाली


काठमाडौँ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले प्रतिवादीहरूलाई सफाइ दिएसँगै छविलाल पौडेल आज डिल्लीबजार कारागारबाट रिहा भएका छन्।

जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले आइतबार अधिकारी हत्यासम्बन्धी मुद्दाका प्रतिवादीलाई सफाइ दिनुका साथै पौडेललाई पनि रिहा गर्नू भनी डिल्लीबजार कारागारलाई निर्देशन दिएको थियो।

रिहा भएपछि पौडेललाई कारागार परिसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं गोरखा क्षेत्र नं १ का सांसद हरिराज अधिकारीले स्वागत गरेका थिए। त्यस्तै नेकपाका नेता÷कार्यकर्ताले पौडेल रिहा भएको खुसीयालीमा करागार परिसरबाट बाजागाजासहितको र्याली निकालेका थिए।

कृष्णप्रसादको विसं २०६१ जेठ २४ मा हत्या भएको थियो। प्रवेशिका परीक्षा दिएर पूर्वी चितवनको जयमङ्गलामा हजुरबुबा भेट्न आएका समयमा अपहरणपछि रत्ननगरको बकुलहरमा उनको हत्या भएको थियो। उक्त अदालतको प्रारम्भिक आदेशविरुद्ध तत्कालीन पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतमा समेत निवेदन पुगेपछि छविलाललाई थुनामा राख्नुपर्ने आदेश भएको थियो।

सोही आदेशानुसार गत असार २४ गते उनी सर्वोच्च अदालतसमक्ष हाजिर भएका डिल्लीबजार कारागार चलान गरेको थियो। कारागारबाट रिहा भएलगत्तै पौडेलले पत्रकारसमक्ष उक्त घटनामा ‘‘आफूविरुद्ध तथ्य नबुझेरै उजुरी दिएको, उनीहरुलाई पछुतो नहोस्’’ भन्ने प्रतिक्रिया दिए। रासस

Comments