विराटनगर, २२ भदौ प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले यस प्रदेशका अधिकांश जिल्लामा पिउने पानीमा समस्या रहेको बताउनुभएको छ ।प्रदेशसभाको आजको बैठकमा प्रदेश सदस्यले उठाउनुभएको प्रश्नको जवाफमा उहाँले सो कुरा बताउनुभएको हो । पानीको गुणस्तर कायम गर्न मन्त्रालयको जिम्मेवारी रहेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री घिमिरेले पिउने पानी उत्पादन गर्ने ११ वटा उद्योगमा स्वास्थ्यमा असर पार्ने कोलिफोम भेट्टिएकाले नै सो उद्योगमा तालाबन्दी गरेको जानकारी दिनुभयो ।
पानी उत्पादन गर्ने यस्ता उद्योगले पानीको गुणस्तर तथा भौतिक संरचनामा विशेष ध्यान दिनुपर्ने भन्दै सामाजिक विकासमन्त्री घिमिरेले गलत मनसायले कुनै पनि काम गरे कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यत्त गर्नुभयो ।
कार्यक्रमको प्रारम्भमा शून्य समयमा प्रदेशसभा सदस्य वसन्तीदेवी यादवले विराटनगर महानगरपालिकाका बजार शनिबार बन्द हुने भएकाले यहाँका उपभोक्ता भारतीय बजारमा किनमेल गर्ने कारण नेपाली अर्थतन्त्रमा नकारात्मक असर परिरहेको बताउनुभयो ।
अर्की प्रदेशसभा सदस्य उषाकला राईले महिलामाथि हुने हिंसाको अन्त्य हुनुपर्ने विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भ्रष्टाचार संस्थागत भयो यसको अन्त्य हुनुपर्छ भन्नुभयो ।
Comments
Post a Comment