काठमाडौ – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना पुग्न लाग्दा पनि दोषीको पहिचान अझै हुन सकेको छैन ।घटनाको सत्यतथ्य पत्ता लगाउन भन्दै सरकार र नेपाल प्रहरीले छुट्टाछुट्टै छानबिन समिति बनाएर अनुसन्धान गरिरहेको छ ।
घटनामा संलग्नको पहिचान गर्न भन्दै सरकारले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा बनाएको छानबिन समितिले दिएको प्रतिवेदनले अपराधी पत्ता लगाउन भन्दा पनि धेरैलाई आशंकाको घेरामा मात्रै राखेको छ । घटनास्थलबाट सेनाको २५ नम्बर बाहिनी नजिकै रहेको र सेनामाथि पनि छानबिन हुनुपर्ने टोलीले औँल्याएको छ । यस्तै टोलीले मृतक बालिकाको मामालाई पनि छानबिनमा ल्याउन भनेको छ ।
यस्तै नेपाल प्रहरीले भदौ १४ मा एसएसपी उत्तम सुवेदी नेतृत्वमा गठन गरेको छानबिन समितिको जिम्मेवारी आइतबारदेखि डीआईजी धिरु बस्न्यातलाई सुम्पेको छ ।दुई महिना हुन लाग्दा समेत घटनामा संलग्न अपराधी पत्ता लगाउन नसकेको भन्दै सर्वत्र विरोध भइरहेको छ । मृतकका बाबुआमा न्याय माग्दै काठमाडौं आएका छन् । विभिन्न स्थानमा पुगेर निर्मलालाई न्याय दिन उनीहरुले हारगुहार गरिरहेका छन् । देशव्यापी दबाब बढिरहेको छ । तर यस अवधिमा अपराधीको सुईंको समेत लाग्न सकेको छैन ।
घटनामा संलग्नताको आशंका गर्दै निलम्बित प्रहरी उपरीक्षक डिल्ली बिष्टसहित उनका छोरा र भीमदत्त नगरपालिका (कञ्चनपुर) का नगर प्रमुख सुरेन्द्र बिष्टका भतिजाको डीएनए परीक्षण सुरु गरिएको छ ।
हत्या प्रकरणको दोषी अहिलेसम्म नभेटिएपछि एसपी बिष्टसहित उनका छोरा किरण बिष्ट र भीमदत्त नगरपालिका (कञ्चनपुर) का नगरप्रमुख सुरेन्द्र बिष्टका भतिज आयुष बिष्टको डीएनए परीक्षणका लागि रगतको नमूना लिइएको छ ।
नेपाल प्रहरी र त्रिवि शिक्षण अस्पतालका विधि विज्ञान विज्ञ डाक्टर हरिहर वस्तीसहितको टोलीले एसपी बिष्टसहितको डीएनए परीक्षणका लागि रक्त संकलन गरेको हो । यसअघि प्रहरीले मुख्य अभियुक्त रहेको भन्दै दिलिप सिंह बिष्टलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । तर उनको डीएनए र निर्मलाको शरीरमा भेटिएको डीएनए नमिलेपछि दिलिपलाई प्रहरीले रिहा गरेको थियो ।
तीनैजनाको डीएनए परीक्षणका लागि टोलीले भदौ २८ गते रक्त संकलन गरेको हो । दिलीप सिंह बिष्टको डीएनए परीक्षण रिपोर्ट फरेन्सिक डिपार्टले तीन दिनमै दिएको थियो ।
अहिले संकलन गरेको तीनै जनाको डीएनए रिपोर्ट पनि अबको केही दिनमै आउने नेपाल प्रहरीका प्रवक्ता शैलेश थापाले जानकारी दिनुभयो ।
दायरा फराकिलोअनुसन्धानको दायरा फराकिलो पार्न डीआईजी धिरु बस्नेत नेतृत्वको टोलीले अब निलम्बनमा परेका सबै प्रहरी अधिकृतसँग बयान लिने तयारी थालेको छ ।
निर्मलाकाे हत्यामा संलग्न भएको भन्दै मुख्य अभियुक्त भनिएका दिलिपसिंह बिष्ट र अर्का युवा चक्र बडूको डीएनए रिपोर्ट नेगेटिभ आइसकेपछि अपराधी पत्ता लगाउन यो टोलीले सबै विधि प्रयोग गर्नेछ ।
निलम्बित प्रहरी अधिकृतहरुसँग बयानका क्रममा उनीहरुका कुरा सही या गलत भएको पत्ता लगाउन विकसित प्रविधि समेत यो समितिले प्रयोग गर्नेछ ।
गहन अनुसन्धानका लागि यो समितिले सीबीआर र ‘पोलिग्राफ टेस्ट’ समेत गर्ने प्रवक्ता थापाले जानकारी दिनुभयो । घटनालाई जसरी पनि सुल्झाउन प्रहरीसँग रहेको आधुनिक प्रविधि प्रयोग गरिने उहाँले बताउनुभयो ।
के हो डीएनए परीक्षण ?वैधता पत्ता लगाउने अकाट्य विधि नै डीएनए परीक्षण हो । अर्थात सत्य जाँच्ने एक सटिक उपाय यसलाई लिइन्छ ।
यदि कुनै देखिने प्रमाण छैन, वा यदि कोही झुटो बोलिरहेको छ भने त्यसका लागि एक मात्र निर्विकल्प माध्यम डीएनए परीक्षण हो । अहिलेसम्म देशभरका कैयौँ घटनाहरूमा जहाँ कुनै स्पष्ट प्रमाण वा अन्य जटिलताहरू थिए, त्याहाँ डीएनए परीक्षणको माध्यमबाटै समस्या समाधान गरिएको घटनाहरु छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएको फागुन २८ गते भएको यूएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव डीएनए परीक्षणबाट पहिचान गर्दै परिवारलाई बुझाइएको थियो । प्रत्येक व्यक्तिको डीएनएको बनावट, औँलाहरु जस्तै एकअर्काबाट फरक फरक हुन्छन् ।
डीएनए परीक्षण गर्दा तीनसय अर्ब घटनामध्ये कुनै एकमा गल्ती हुन सक्ने विश्वभरका डीएनए वैज्ञानिकहरूको दाबी छ । आजको युगमा जटिल आपराधिक मामलाहरू डीएनए परीक्षणमार्फत सुल्झाउन सहज भएको छ ।
Comments
Post a Comment