‘हातको रेखालाई त्यति महत्व नदिनू, भाग्य उसको पनि हुन्छ, जसको हात नै हुँदैन’ : ‘सुब्बा साहेब’ सुशीला ढकाल



आन्तरिक राजस्व विभागको छैटौँ तलाको एउटा कोठा । हेर्दा कुनै लाइब्रेरीझैँ देखिन्छ । र्याकमा किताब होइन, विभागका फाइल सजिएका छन् । छेउमा कुर्सी–टेबुल छन्, उत्रै उचाइका । टेबुलमा कम्प्युटर छ भने कुर्सीमा ‘सुब्बा साहेब’ सुशीला ढकाल । सुशीला बिस्तारै माउस घुमाउँछिन् । बूढीऔँलाले किबोर्ड थिच्छिन् । तर, यो सबैकोझैँ हातले होइन । कमाल देखाउँछिन् गोडाले ।



कुनै रहर या गिनिज बुकमा नाम लेखाउने ‘प्राक्टिस’ पनि होइन । यो त सुशीलाको दैनिक मजबुरी हो । कारण, उनका दुवै हात छैनन् । तर, हात नभएर के भो त, गोडा नै काफी छन्, उनलाई कम्प्युटरमा दुनियाँ खोज्न । दुई हात र दुई गोडा छन् जसका, तर निराश छन् जीवनप्रति । यस्ता सबैका लागि आशाकी दियो हुन्, सुशीला ।

स–साना अप्ठ्यारा ठूला–ठूला सफलताका बाधक देख्नेहरूका लागि साहसका प्रतिमूर्ति हुन्, सुशीला । उनलाई देख्दा यस्तो लाग्छ, गोडाले पनि दिमाग उतार्न सक्छ । धपक्क बलेको उनको अनुहारमा पश्चातापको धब्बा देखिँदैन । बरु, उत्साहको छाल भेटिन्छ । उनलाई भेट्दा एकसाथ सयौँ प्रश्न जन्मिन्छन्, सोध्नका लागि । मैले एउटा प्रश्न थुतेँ दिमागबाट ।

मेरो प्रश्न– दुई हात नहुनु नै तपाईंको जीवनको सबैभन्दा ठूलो उपलब्धि हो किझैँ पो लाग्यो ?

सोचाइमा डुबिन्, थोरैबेर । जवाफ फर्काइन्, ‘हो, मेरा हात भएका भए केही काम त गर्न सक्थेँ हुँला । तर, यत्रो चर्चा पक्कै पाउँदैनथेँ । मबाट इन्स्पायर भएर थुप्रैले आत्महत्यालाई त्यागिदिएका छन् । शारीरिक रूपमा कमजोर छु भन्नेहरूलाई हौसला मिलेको छ । हात नभए पनि जीवनमा आत्मविश्वासका साथ काम गर्दा थुप्रै अवसर पाएको छु ।’

दोस्रो प्रश्न– हात नहुँदा जीवनमा थुप्रै अवरोधहरू पनि निम्तिए होला नि ?
सुशीलाको जवाफ– शतप्रतिशत असहमत । ओहो ! कत्रो तागत ? म जिल खाएँ । हात नहुनुलाई जीवनको असफलतासँग दाँज्नै चाहन्नन्, उनी ।

‘ड्युटी आवर’ थियो । आन्तरिक राजस्व विभागको फाँट शाखामा चल्दै छ, यो गफगाफ । चर्को गर्मी पाखा लगाउन जुरुक्क उठ्छिन् । गोडा उचाल्छिन् र पंखा चलाउँछिन् । कुर्सीमा बस्न नपाउँदै चिया आइपुग्छ । एक–अर्कासँग अनुमति माग्छौँ, चिया पिउने । तर, म रोकिएँ । चियाको कप हातमा ‘होल्ड’ भयो ।

कारण, सुशीलाको गोडाले चिया कप उठाउँदै गर्दा मेरा आँखा र मन रोकिन बाध्य भए । उनी चिया पिउँछिन्, म त हेरेको हेरै । एक चुस्की लिएर चियाको कप व्यवस्थित तरिकाले टेबलमा राख्छिन् । बल्ल मैले कप मुखमा जोडेँ ।

तत्काल, मोबाइलको घन्टी बज्यो । मेरो होइन, सुशीलाको । फेरि गोडा लम्काइन् र बूढीऔँलाले ‘रिसिभ’ गरिन् । अनि माझी र बूढीऔँलाको सहाराले टपक्क टिपेर कानसम्म पुर्याइन् । म हेरिरहेछु, एकतमास । कुममा मोबाइल अड्याएर बोल्न थालिन्, मीठो मुस्कान छर्दै ।

म त प्रश्नको चाङ बोकेरै गएको थिएँ । फेरि सोधेँ– कपडा पनि आफैँ लगाउनुहुन्छ ? मेरो प्रश्न फुत्किन नपाउँदै छेवैमा रहेकी अर्की कर्मचारी रोकिन सकिनन्, ‘उहाँले त गाजल पनि आफैँ लगाउनुहुन्छ ।’
अनि, मेकअप पनि ? फेरि प्रश्न गरेँ ।

अब सुशीला नै बोलिन्, ‘हो, खुट्टाले नै लगाउँछु । कपाल पनि आफैँ कोर्छु । अनि, यो कुर्ता आफैँ लगाएर आएकी हुँ । सुरुवाल कम्मरसम्म सार्नचाहिँ अलिक गाह्रो हुन्छ । खाना पनि आफैँ खान्छु । आवश्यक पर्दा खानासमेत पकाइदिन्छु । मलाई जीवनमा कहिल्यै हातको अभाव खड्किएको छैन ।’

सुशीलाको यो जवाफ साँच्चै संसारकै लागि उदाहरणीय लाग्छ । अर्को उदाहरण खोज्न अर्को देश पुग्नुपर्दैन, चर्चित साहित्यकार झमककुमारी घिमिरेसम्म पुग्दा हुन्छ । हो, झमकले जस्तै सुशीलाले पनि गोडाले नै लेख्छिन् । लेखेरै देखाइन् । वा…वा कति राम्रो ‘हेन्डराइटिङ’ !

जब सुशीला जन्मिन् । उनकी आमा संसारकी सबैभन्दा दुःखी थिइन् । सुशीला जन्मेदेखि नै आमाको अनुहारमा बादल छाएको थियो । बादल यति छाएको थियो कि जहिल्यै आँखाबाट आँसु बर्सिन्थ्यो । दाउराजस्ती भएकी थिइन्, उनकी आमा । छिमेकीले भन्थे, ‘कति पीर गरेको, आँसु बगाएरै सकिने भयौ ।’ त्यो वेला आमाले भोगेको जीवन देख्नेहरू अहिले सुनाउँछन्, सुशीलालाई ।

Comments