विहे गर्ने वहानामा कञ्चनपुरमा फेरि १६ वर्षीया किशोरीको सामूहिक बलात्कार



विहे गर्ने वहानामा कञ्चनपुरमा फेरि १६ वर्षीया किशोरीको सामूहिक बलात्कार

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटना सेलाउन नपाउँदै कञ्चनपुरमै अर्की १६ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छिन् ।

बेलडाँडी गाउँपालिकाकी किशोरीको बिहीबार राति बलात्कार भएको खबर आजको नयाँ पत्रिका दैनिकमा कञ्चनपुरबाट मोहन विष्टले लेखेका छन्।

चिनजानकै एक युवकले फोन गरेर उनलाई घरनजिकैको सडकमा बोलाएका थिए । त्यहाँ दुई मोटरसाइकलमा चार युवक थिए । उनीहरूले किशोरीलाई मोटरसाइकलमा राखेर नजिकैको जबदिया गाउँ लगेर बलात्कार गरेको इलाका प्रहरी कार्यालय बेलडाँडीका इन्स्पेक्टर सुरेन्द्रबहादुर बमले बताए ।

युवकले फोन गरेर बोलाउँदा किशोरीको घरमा पूजा चलिरहेको थियो । फोन आएपछि छोरी दौडिँदै सडकतिर गएको उनका बाबुले प्रहरीलाई बयान दिएका छन् । बलात्कारमा संलग्नमध्ये दुई युवकलाई किशोरीले चिनेको बताएकी छिन् ।

फरार चारैजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । पीडित परिवार र स्थानीयले मध्यरातमा घरबाटै अपहरण शैलीमा लगेर बलात्कार गर्नेलाई कारबाहीको माग गरेका छन् । घटनाबारे बुझ्न जिल्ला प्रहरी प्रमुख एसपी कुवेर कडायत पनि शुक्रबार घटनास्थल पुगेका थिए ।

किशोरीका बुवा भन्छन्– राति करिब साढे १२ बजेतिर सत्यनारायणको कथा सकेर हामीले खाना खाइसकेका थियौँ । घर र छरछिमेकका स–साना नानीहरू बुफर लगाएर आँगनमा नाच्दै थिए । छोरीको मोबाइलमा एक्कासि फोन आयो ।

उनी फोन उठाउँदै सडकतिर गएको केटाकेटीले पनि देखेका रहेछन् । केटाकेटीले मोटरसाइकलमा राखेर लगेको बताएपछि हामी एकैछिनमा त्यतातिर लाग्यौँ ।

मेरो घरभन्दा झन्डै एक किलोमिटर पर सडकको छेउमै बलात्कार गरेर भागेछन् । छोरीले दुई केटाहरूलाई चिनेकी रहिछ । विवाह गर्छु भन्दै बोलाएको रहेछ । तर, इज्जत लुट्यो ।

Comments